उर्लावारी ,९ मंसिर । मोरङको उर्लाबारीमा गत कात्तिक २६ गते लक्ष्मीपूजाको दिन भएको आगलागीको घटनामा घाइते भएका अर्का एक व्यक्तिको पनि मृत्यु भएको छ ।उर्लाबारी -७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचारको क्रममा शनिवार बिहान निधन भएपछि सो घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।
आईसीयूमा उपचाररत कार्कीको शनिबार बिहान ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । आगलागीमा उनको अनुहार, घाँटी, ढाड, दुवै हात र दुवै खुट्टासहित शरीरको ४० प्रतिशत भाग जलेको थियो ।
उर्लाबारी–७ इटहरा रोडमा स्थानीय दिपक कार्कीको सुन पसलमा अचानक भएको आगलागी निभाउन गएका ४ प्रहरीसहित २८ जना घाइते भएका थिए । यो आगलागी घटनाका २१ जना घाइतेको अहिले पनि कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये आईसीयूमा ५ जना छन्।आगलागी घटनामा उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि मृत्यु भइसकेको छ ।