मोरङ, ३ मङ्सिर । नेपाली कांग्रेस मोरङको जिल्ला सम्मेलन मङ्सिर ६ गते सुन्दरहरैँचा–९ स्थित जेसीज भवनमा हुने भएको छ । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधान अनुसार हुने यो पहिलो जिल्ला सम्मेलन हो ।
कांग्रेसले दुई वर्ष अघि १४ औं महाधिवेशनका क्रममा नयाँ संरचना अनुसार वडादेखि केन्द्रसम्मको नेतृत्व चयन गरेको थियो । १४ औं महाधिवेशनपछि मोरङमा पहिलो जिल्ला सम्मेलन हुन लागेको मोरङका कार्यावहाक सभापति भक्तिनाथ माझीले बताउनु भयो । जिल्ला सम्मेलनलाई भव्य रुपमा सम्पन्न गर्न मोरङ कांग्रेसको पदाधिकारीसहितको टोली मङ्सिर २ गतेदेखि जिल्लाका १७ वटै स्थानीय तहका क्षेत्रीय प्रतिनिधिसँग भेटघाट गरिरहेको छ ।
जिल्ला सचिव मोदराज घिमिरेका अनुसार पदाधिकारीको टोलीले मङ्सिर १ गते कटहरी, जहदा, धनपालथान गाउँपालिका र सुनवर्षी, रतुवामाई र रङ्गेली नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट गरेको छ । यस्तै, २ गते बुढीगंगा, ग्रामथान, कानेपोखरी गाउँपालिका र सुन्दरहरैँचा, बेलबारी र पथरीशनिश्चरे नगरपालिकाका क्षेत्रीय प्रतिनिधिहरूसँग अन्तरक्रिया गरेको छ ।
मङ्सिर ३ गते विराटनगर महानगरका क्षेत्रीय प्रतिनिधिहरूसँग भेटघाट कार्यक्रम सकिएको छ भने बाँकी रहेका उर्लाबारी, लेटाङ नगरपालिका र केरावारी, मिक्लाजुङ गाउँपालिकाका प्रतिनिधिसँग आइतबार साँझसम्ममा भेटघाट गरिसक्ने कार्यक्रम रहेको सचिव घिमिरेले बताए ।
टोलीमा कार्यावहाक सभापतिमा भक्तिनाथ माझी, सचिवद्वय मोदराज घिमिरे र ललितबहादुर श्रेष्ठ, सहसचिवद्वय सञ्जय मण्डल र भुवनेश्वर मण्डल एवम् कोषाध्यक्ष रन्जु अधिकारी छन् । मोरङ सभापति डिगबहादुर लिम्बू हाल युवा तथा खेलकुद मन्त्री रहेका छन् भने विराटनगर महानगरका नगरप्रमुख रहेका उपसभापति नागेश कोइराला चीन भ्रमणमा छन् ।
जिल्ला सम्मेलनमा मोरङका १७ पालिकाका तीन हजार ५५५ जना क्षेत्रीय प्रतिनिधिको सहभागिता रहनेछ । सम्मेलनले सरकारको माओवादीसँगको गठबन्धन, कोसी प्रदेश सरकार गठन र आगामी महासमिति बैठकमा मोरङले राख्ने एजेण्डाका विषयमा साझा धारणा तय गर्ने अर्का जिल्ला सचिव ललितबहादुर श्रेष्ठले बताए। सम्मेलनमा मोरङबाट निर्वाचित सबै केन्द्रीय सदस्यहरू, कोशी प्रदेश समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहनेछ ।