बिर्तामोड ,२९ कार्तिक । पूर्वपश्चिम राजमार्ग अन्र्तगत झापाको दुर्गापुरमा मंगलवार दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्करबाट मोटरसाईकलमा सवार अर्जुनधारा–६ का ५२ वर्षीय नरेन्द्र मैनाली र ५० वर्षीया सीतादेवी मैनालीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ठक्कर दिने सवारी तथा चालकलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको बताइएको छ ।