मोरङ,२० कार्तिक । मोरङको जहदा गाउँपालिका–३ बाट लागू औषध गाँजा ओसारपसारमा संलग्न एम्बुलेन्स र चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बिशेष सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले बुधबारराति एम्बुलेन्ससहित २ जना पक्राउ परेका हुन्।
प्रहरीले स.१ च ६५६ नम्बरको एम्बुलेन्सलाई जाँच गर्ने क्रममा उक्त सवारीसाधनभित्र कालो झोलामा लुकाइछिपाई राखिएको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
गाँजा बरामदसँगै प्रहरीले एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गाप्रसाद राजवंशी र एम्बुलेन्ससँगै आएका मोटरसाइकल (को.३१ प ८८८९) चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिपकुमार राजवंशीलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार बरामद लागूऔषध र पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धानका लागि आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।