दमक,२० कार्तिक । रमा लिम्बू, दमकको सामाजिक तथा राजनीतिक वृतमा चिनिएको नाम हो । उद्योग,व्यवसायदेखि सामाजिक संघसंस्था हुदै नेपाली कांग्रेसको विभिन्न जिम्मेवारी सम्हाल्दैआएकी उनी यस क्षेत्रबाट कांग्रेस महाधिबेशन प्रतिनिधि पनि हुन् ।
पार्टीमा आदिवासी मात्र नभएर महिलाको भूमिकालाई जोड दिदैआएकी उनी यसपटक महासमितिका लागि आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेकी छन् । यस क्षेत्रबाट अव भने महासमिति सदस्यका लागि उम्मेदवार बन्ने आकांक्षी उनले महासमिति सदस्यको जिम्मेवारी बहन गरेर पार्टीमा योगदान पुरयाँउने इच्छा रहेको सुनाईन् । उनले भने, ‘ यस क्षेत्रबाट अव महासमिति सदस्यका लागि आदिवासीतर्फ महिला कोटाबाट उम्मेदवार वनेकी छु , क्षेत्रबासी सवै प्रतिनिधिहरुबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छु ’ सो कोटामा उनीसहित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी आकांक्षी देखिएकी छन् ।
राजनीतिकसंगै उनले दमक उद्योग वाणिज्य संघमा दुई कार्यकाल , रोटरी ,लायन्स लगायतका सामाजिक संघसंस्थामा कुसल भूमिका निर्वाह गरिसकेकी छिन् भने दमककै निम्स नेशनल अस्पतालका सञ्चालक समेत भएर समाजप्रति योगदान पुरयाँउदैं आएकी छन् । युवा नेतृ लिम्बू पार्टीमा थप जिम्मेवारी सम्हाल्न मात्र नभएर पार्टी र देश प्रति केहि इमान्दारीपूर्वक योगदान पुरयाउँनका लागि आफूले महासमिति सदस्यको उम्मेदवार भएको विचार राख्छिन् ।
महासमितिको निर्वाचन जिल्लाभरि यहि कार्तिक २३ गते तय गरिएको छ । यस क्षेत्रमा पार्टीलाई थप मजवुत बनाउदै दर्विलो पार्टी बनाउन मेरो भूमिका रहने उनले स्पष्ट पारिन् । उनले पार्टीप्रतिको लगानी,निष्ठालाई मूल्याङ्गकन गरेर महासमिति सदस्यहरु चुन्ने विश्वास व्यक्त गरिन् ।
क्षेत्र न. ५ मा २५ जना महाधिबेशन प्रतिनिधिहरु छन् । तीनै महाधिबेशन प्रतिनिधिहरु मध्ये ११ जना भने क्षेत्रीय प्रतिनिधिहरुमार्फत महासमिति चुनिने प्रावधान छ । यस क्षेत्रमा ७ सय बढी क्षेत्रीय प्रतिनिधिहरु छन् ।
यी हुन महाधिबेशन प्रतिनिधिहरु
खुल्लातर्फ १० जना केन्द्रीय महाधिवेशन प्रतिनिधिमा हुकुमसिंह राई, डा. खगेन्द्रपाण्डव अधिकारी, रोहितकुमार साह, हेमन्त कार्की, सुरेश सुब्बा, राजनबहादुर ढुङ्गाना, मेदनीप्रसाद सिटौला, अनिलकृष्ण प्रसाईं, भुपालराज कटुवाल र टीकाराज सापकोटा निर्वाचित भएका थिए भने खुल्ला महिलातर्फ महेन्द्रकुमारी लिम्बू, रेगिना भट्टराई प्रसाईं, लक्ष्मी बाराकोटी ,तुलसा पन्त विजयी भए भने आदिवासी जनजाति समूह (पुरुषतर्फ) अइन्द्र विक्रम केरुङ र भूमिराज राई ,आदिवासी महिलामा रमा लिम्बू र फुलवती राजवंशी महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
त्यसैगरी खस आर्य पुरुषतर्फ विक्रम अधिकारी , डा. नेत्र बुढाथोकी ,खस आर्य महिलातर्फ मन्दरा चिमरिया पौडेल , चन्द्राकुमारी खडका र मधेसी कोटामा सत्यनारायण चौधरी र अल्पसङ्ख्यकमा नीरज अग्रवाल निर्वाचित भएका थिए । ती सवै यसपटक महासमिति सदस्यका उम्मेदवार हुने आकांक्षीमा छन् ।