२ दिन सर्‍यो झापा महिला गोल्डकप

दमक,१४ कार्तिक । झापाको शिवसताक्षी नगरपालिकास्थित दुधेमा भोलि कात्तिक १५ गतेदेखि सुरु हुने भनिएको एलभिडी प्रथम झापा महिला गोल्डकप– २०८२ दुई दिन पछि सरेको छ ।
विहिबारराति देखि परेको अविरल बर्षाका कारण समग्र जनजीवन प्रभावित हुन पुगेकाले निर्धारित गोल्डकप दुई दिन पछि सार्ने निर्णय गरिएको आयोजक झापा महिला गोल्डकपले जनाएको छ ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको अवस्थामा झापासहित देशका धेरै ठाउँमा पानी परिरहेपछि खेल तालिकानै प्रभावित हुन पुगेको हो । जसअनुसार उद्घाटन खेल कात्तिक १७ गते सोमबारलाई सारिएको आयोजक झापा महिला गोल्डकपका सचिवालय प्रमुख हिमाल खरेलले जानकारी दिए ।

उनका अनुसार यसअघि सार्वजनिक गरिएको खेल तालिकाअनुसार २ दिनको मिति पछि धकेलेर प्रतियोगिता हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी एफसी, एपिएफ एफसी, नेपाल पुलिस क्लब, संकटा फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, झापा फुटबल क्लब र आरएस पोखरा फुटबल क्लब तथा भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लब गरि आठ वटा टिमको सहभागिता रहने छ । प्रतियोगिताको उद्घाटन खेल नेपाल पुलिस क्लबको महिला टिम र चर्च ब्वाइज युनाइटेडको महिला टिमबीच हुनेछ ।

त्यस्तै, दोस्रो खेल कात्तिक १८ गते नेपाल एपिएफ फुटबल क्लबविरुद्ध भारत सिक्किमको सिंग्लिङ स्पोर्टिङ क्लबले खेल्नेछ । झापा महिला गोल्डकपको तेस्रो खेल कात्तिक १९ गते संकटा फुटबल क्लबसँग झापा फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछ । चौथो खेल कात्तिक २० गते त्रिभुवन आर्मी फुटबल क्लबले आरएस पोखरा फुटबल क्लबविरुद्ध प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो सेमिफाइनल खेल कात्तिक २१ गते अन्तिम सेमिफाइनल खेल कात्तिक २२ गते हुनेछ भने फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

शिवसताक्षीस्थित दुधे रंगशालामा हुने प्रतियोगिताका विजेता टिमले नगद रु १० लाख १० हजार रुपैयाँ ,ट्रफि तथा प्रमाणपत्र र उपविजेताले नगद रु पाँच लाख ,ट्रफि तथा प्रमाणपत्ररुपैयाँ पाउनेछ । त्यस्तै,सर्वोत्कृष्ट एक जना खेलाडीलाई नगद रु एक लाख ५० हजार रुपैयाँ प्रदान गरिने गोल्डकपका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । महिला फूटवल खेलको हालसम्मकै यो ठुलो धनराशीको प्रतियोगिता भएको आयोजकको दावी छ ।

Leave a Reply

Your email address will not be published.