कार्की आत्महत्या विरुद्धको जाहेरी दर्ता गर्न प्रहरीद्धारा आनाकानी

झापा, १३ कात्तिक । झापा, कमल -६ का अनिल कार्कीको आत्महत्या प्रकरणमा संलग्न भएको भन्दै श्रीमतीसहित तीन जना विरुद्धको किटानी जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको छ ।आज विहान इलाका प्रहरी कार्यालय दमकमा जाहेरी बुझाउन पुगेका कार्कीका आफन्तजनको जाहेरी विभिन्न बहाना देखाउदै जाहेरी लिन नमानेको पीडितका एक आफन्तले आरोप लगाएका छन् ।
कार्कीलाई आत्महत्या गर्न लगाएको भन्दै उनका आफन्तले निजको श्रीमती चाहना पोख्रेलसहित वडाअध्यक्ष नरेन्द्र भटटराई, ससुरा पूण्यप्रसाद पोख्रेल विरुद्ध प्रहरीमा किटानी जाहेरी दिन पुगेका पीडितको जाहेरी लिन प्रहरीले आनाकानी गरेको हो । मृतकका आफन्तले कार्कीको आत्महत्या नभई प्रेरित गराएको भन्दै उनीहरुलाई नियन्त्रणमा अनुसन्धान गर्न मागसहितको किटानी जाहेरी दिएका हुन् ।
हिजो साँझ घरमै उनी झुन्डिएको अबस्थामा फेला परेका थिए । पासो काटेर उपचारका लागि दमकको लाइफलाइन अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको थियो । त्यसपछि कार्कीका आफन्तले शव बुझ्न मानेका थिएनन् । कार्की र उनकी श्रीमतीबीच राम्रो सम्बन्ध नरहेको र उनीहरुको कलहकै कारण आत्महत्या गरेको हुनसक्ने कार्कीका मामा खेमबहादुर बुढाथोकीले बताए ।
आफन्तहरुले कमल ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईमाथि पनि आरोप लगाएका छन् । केही दिनअघि कार्की र उनकी श्रीमतीबीच झैझगडा हुँदा वडाध्यक्ष भट्टराई झगडा मिलाउन गएका थिए । त्यसबेला वडाध्यक्ष भट्टराईले हातपात गरेको आफन्तको आरोप रहेको छ । त्यही घटनाका कारण उनले आत्महत्या गरेको कार्कीका आफन्तले आरोप लगाएका छन् । त्यस विषयमा बुझ्न खोज्दा वडाध्यक्ष भट्टराईको मोबाइल नम्बर ९८५२६८३३९३ स्वीच अफ रहेको थियो ।

दमक प्रहरीले कार्कीको शव पोष्टमार्टमका लागि राति नै धरान पठाएको जनाएको छ । कार्की ससुरालीछेउमा घर बनाएर बसेका थिए ।

Leave a Reply

Your email address will not be published.