माइधार ,१२ कार्तिक । झापाको शिवसताक्षी–९मा अवस्थित ऐतिहासिक क्षेत्र चिल्लागढधाममा राष्ट्रिय विभुति महागुरु फाल्गुनन्द लिङदेनको १३९ औं जन्म जयन्ती सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाइने भएको छ ।
कनकाई माईको किनारमा रहेको धार्मिक क्षेत्र चिल्लागढधाममा यही कार्तिक २५ गते राष्ट्रिय विभुति फाल्गुनन्दको शालिक अनावरण सहित विभिन्न कार्यक्रम गरि जन्मजयन्ती भव्य रुपले मनाइने भएको आयोजक किराँत धर्म तथा साहित्य उत्थान संघले शनिवार पत्रकार सम्मेलन गरि सो जानकारी दिएको हो ।
आयोजक किराँत धर्म तथा साहित्य उत्थान संघका अनुसार जन्मजयन्ती भव्य रुपमा मनाउने तयारी भईरहेको र कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहाल र किरात धर्मगुरु मुहिङगुम आङसीमाङ लिङ्देन ‘सेइड’ तथा मुहिङगुम आङसीमाङ साँवा पवित्रहाङमा लिङ्देनको संयुक्त हस्त बाहुलीबाट उद्घाटन गरिने छ ।
जसअनुसार कार्तिक २२ गते कनकाई नदीमा साक्मुरा (गालश्राप ) बनाउने, २३ गते येत नाम्थुङ लाधुङसेमी सेवाका लागि पूर्व तयारी गर्ने, २४ गते सत्य अहिंसा विश्व शान्ति ता चराचर सकल प्राणीहरुको रक्षार्थ अष्टम यज्ञ होमादी गरिने र २५ गते १ लाख ८ हजार १०८ दिपप्रज्ज्वलन गरी किराँत धर्म गुरुबाट फाल्गुनन्दको शालिक अनावरण गरिने किराँत धर्म तथा साहित्य उत्थान संघका केन्द्रीय अध्यक्ष डकेन्द्रसिंह थेगिमले जानकारी दिए ।
कार्यक्रममा पुस्तक तथा पत्रपत्रिकाको विमोचन, स्थानीय लोक नृत्य, झाँकी प्रदर्शन समेत गरिने कार्यक्रम रहेको आयोजक चिल्लागढ धाम पर्यटन विकास समितिका अध्यक्ष शिशिर तुम्बापोले बताए । उनले चिल्लागढ धामको व्यापक प्रचार प्रसार गरी धामको इतिहास र महिमा विश्व सामु पुर्याउन पनि राष्ट्रिय स्तरको कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
कार्यक्रममा भुटान, अमेरिका, बर्मा, सिक्किम, अष्ट्रेलिया, हङकङबाट प्रतिनिधिका रुपमा र नेपाल, भारतबाट गरी १० हजार बढी भक्तजनहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम सम्पन्न गर्न अनुमानित ३० लाख रकम लाग्ने मुल आयोजक समितिका सचिव चन्द्र लिङदेनले जानकारी दिए । उनले शिवसताक्षी नगरपालिका, नगरका ११ वटै वडा र झापा जिल्लाका अन्य पालिकाहरुको सहयोगको अपेक्षा गरिएको बताए । अन्य रकम भक्तजन र देश विदेशमा रहेका सहयोगी दाताहरुबाट संकलन गरिने समेत उनले जानकारी दिए ।
चिल्ल्लागढमा निर्माण भएको फाल्गुनन्द पूर्णकदका शालिक ५० लाखको लागतमा निर्माण गरिएको चिल्लागढधाम धार्मिक तथा पर्यटन विकास समितिले जनाएको छ । जसमा पूर्णकदको ढुंगाका शालिक र शालिक राख्ने स्थान गृल लगायतका संरचना निर्माण गरिएको हो ।