मोरङ,१० कार्तिक । मोरङको जहदा गाउँपालिकामा दुई साँढे जुध्दा एक जना बृद्धाको मृत्यु भएको छ ।बिहीबार जहदा ३ स्थित जयरामपुरमा दुईवटा साँढे जुध्दा सो घटना भएको स्थानीय सतिश राजवंशीले जानकारी दिए ।
सडकमा दुई साँढे जुध्दै गर्दा एउटा साढे भागेर घरमा पसेपछि ६० वर्षीया घुर्नी खातुनलाई किचेको थियो । सडक नजिक रहेको घरको आगनमा बसिरहेको अवस्थामा साँढेले किचेपछि महिला गम्भीर घाइते भएकी थिइन् ।
घाइते खातुनलाई तत्काल उपचारका लागि परिवार सदस्यले विराटनगरस्थित कोसी अस्पताल ल्याएका थिए । उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
महिलाको मृत्यु भएपछि परिवार र छिमेकीहरुले उपचारमा लापरवाही भएको भन्दै अस्पताल परिसरमा नारावाजी गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।