दमक, ७ कार्तिक । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरि मनाईएको छ । त्यस अवसरमा दमकमा रहेको महाकवि देवकोटाको शालिकमा माल्यार्पण गर्नुका साथै उनको जीवनी माथि चर्चा गरिएको थियो ।
शालिकमा दमक नगर प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भट्टराई प्रसाइँ, वडा नं ६ का वडाध्यक्ष टेकबहादुर थापा, साहित्यकार युवराज नयाँघरे, खेमलाल पोखरेलसहित साहित्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुले माल्यार्पण गरेका हुन् ।माल्यापर्ण पछि दमकस्थित पशुपति सेवा सदनमा दमक प्रज्ञा प्रतिष्ठानुसहित विभिन्न संघसंस्थाहरुले आयोजना गरेको देवकोटा जयन्ती विशेष समारोहमा देवकोटाको साहित्यसंगै मुलकको हितमा पुरयाँएको योगदानको चर्चा गरेका थिए । त्यसक्रममा साहित्यकार तथा प्राध्यापक भुमी प्रसाद दाहालले महाकवि देवकोटाले नेपाली साहित्यसंगै मुलुकको हितमा पुरयाएको योगदानको चर्चा गरे ।
प्रतिष्ठानका अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बाल कलाकार रियाज रिजालले महाकवि देवकोटाको रचना वाचन गरेर स्वागत गरेका थिए । कार्यक्रमको सञ्चालन बिष्णु नेउपानेले गरेका थिए ।
देवकोटाका कालजयी कृतिमार्फत नेपाली साहित्यमा पुरयाएको योगदानको स्मरण गर्दै हरेक वर्ष नेपालसँगै भारतको दार्जिलिङ सिक्किम जस्ता नेपाली भाषीको बाहुल्य क्षेत्रमा लक्ष्मी पूजाको दिन देवकोटाको जन्मजयन्ती धुमधामका साथ मनाउने गरिन्छ ।
विसं १९६६ साल कात्तिकको औशीका दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साईलो छोराको रुपमा जन्मिएका देवकोटाले नेपाली साहित्यमा स्वच्छन्दतावादी धाराको सुरुवात गरेका थिए । तत्कालीन राणा शासनकालमा सर्वसाधारणलाई अध्ययन गर्न दिनुपर्ने भन्दै अभियान चलाउने देवकोटा लाईब्रेरी काण्डका समेत एक प्रमुख सदस्य हुन् ।
साहित्य कलाको रचना वाचन
साहित्य कला सङ्गम दमकले एक कार्यक्रका वीच रचना वाचन कार्यक्रम सम्पन्न गरेको छ। हरेक महिनाको पहिलो शुक्रवार सञ्चालन हुने उक्त रचना वाचन कार्यक्रमा दुई दर्जन बढी श्रष्टाहरुले वाचन गरेका थिए ।साहित्य कला सङ्गमका अध्यक्ष बिष्णु न्यौपाने,उपाध्यक्षहरु विन्दु दहाल ूमुकदर्शकू र यादव प्रसाद अधिकारी,सचिव बिवश बलिभद्र कोईराला, सहसचिव हरि पराजुली,कोषाध्यक्ष ओम प्रसाद खनाल र सदस्यहरु गोपाल प्रसाद दहाल,ओम प्रकाश गौतम, डिल्ली निरौला लगायतले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।
कार्यक्रममा अतिथिको रुपमा अभिनव साहित्य समाज काठमाण्डौका सचिव पर्शुराम पराजुली (परासर ) र सहकोषाध्यक्ष शारदा पराजुलीले रचना वाचन गर्नुका साथै नवनासो साहित्य प्रतिष्ठान धरमपुरका का अध्यक्ष दिलिप घिमीरे , प्रेम आचार्य, भगवती दवाडी,मेघनाथ बन्धु ,लता खनाल (मिश्र )ले समेत रचना वाचन गरेका थिए ।
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्यौपानेको अध्यक्षतामा भएको थियो भने सञ्चालन सचिव बिवश बलिभद्र कोईरालाले गरेका थिए ।