
ताप्लेजुङ ,३१ असोज। ताप्लेजुङमा सर्पको टोकाइबाट एक युवकको मृत्यू भएको छ । मृत्यू हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा शनिबार विहान करिब २ बजेर ३१ मिनेटमा मृत्यू भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिएका छन् । प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा मृत्यू भएको हो ।
पूर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब गत शुक्रवार बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए । झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताए । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् । शवलाई आज अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।