पाथीभरा परिसरमा च्याब्रुङ स्तम्भ निर्माण

ताप्लेजुङ, ३१ असोज । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा च्याब्रुङ स्तम्भ केः मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको हो ।
लिम्बू (याक्थुङ ) समुदायको ऐतिहासिक साँस्कृतिक बाजाको रुपमा रहेको च्याब्रुङको स्तम्भ निर्माण गरिएको हो । लिम्बू समुदायको साँस्कृतिक पहिचानलाई संरक्षण गर्ने तथा च्याब्रुङ (केः ) को प्रचारप्रसार गर्ने उद्देश्यले मुक्कुमलुङ परिसरमा स्तम्भ निर्माण गरिएको किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङका राष्ट्रिय सदस्य बालचन्द्र आङ्बुहाङले बताए ।
स्तम्भ निर्माण समितिका सचिवसमेत रहेका आङ्बुहाङका अनुसार च्याब्रुङ स्तम्भमा कियाचु जापान शाखाले पठाएको २७ लाख रुपियाँ बढी आर्थिक लगानी भएको छ । तीन हजार ७९४ मिटरको उचाइ रहेको पाथीभरा परिसरमा निर्माण गरिएको च्याब्रुङको प्रतिमा स्तम्भले लिम्बू समुदायको साँँस्कृतिक पहिचानको जगेर्ना गर्नमा सहयोग पुग्ने अपेक्षा राखिएको किराँत याक्थुङ चुम्लुङले जनाएको छ ।
पाथीभराको दर्शन गर्न देश विदेशबाट आउने भक्तजनले स्तम्भको अवलोकन गर्ने र च्याब्रुङबारे प्रचारप्रसारमा टेवा पुग्ने किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोले बताईन् । भर्खरै निर्माण सम्पन्न गरिएको सो च्याब्रुङ स्तम्भको किराँत याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम एक्तेनले अनावरण गरे । अनावरण कार्यक्रममा एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माणले लिम्बूको संस्कृति संरक्षण साथै पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने एक्तेनले उल्लेख गरे ।
यता, पाथीभरा परिसरमा निर्माण भएको च्याब्रुङ स्तम्भको पाथीभरा दर्शनमा आउने भक्तजनले अवलोकन गर्ने गरेका साथै च्याब्रुङबारे चासो र जिज्ञासा राख्ने गरेका छन् । पाथीभरा दर्शनमा पूर्वका जिल्लाबाट उल्लेख्य भक्तजन आउने गर्दछन् भने सङ्घीय राजधानी काठमाडौंसहित पश्चिम नेपालसम्मका भक्तजन पाथीभराको दर्शन गर्न आउने गरेका छन् । त्यस्तै नेपाल बाहिर भारतको सिक्किम, दार्जिलिङ, मनिपुर लगायतका स्थानबाट अलि बढी भक्तजन पाथीभराको दर्शन गर्नकै लागि आउने गरेका छन् भने अन्य तेस्रो मुलुकका भक्तजन पाथीभराको दर्शन गर्न पुग्ने गरेको तथ्याङ्क रहेको छ ।

Leave a Reply

Your email address will not be published.