मोरङ, २१ आश्विन । मोरङको दुई अलग अलग स्थानमा भएको सवारी दुर्घटनामा परेर र दुई जना प्रहरीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आइतवार साँझ ६.४० बजे बेलबारी– ८ चिसाङ पुलमा प्र३–०१–०२४ च ०७३४ नम्बरको कारले प्र१–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ मोटरसाइकल चालक सङ्खुवासभा सिलिचुङ गाउँपालिका २ बस्ने अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्र सागर राईको मृत्यु भएको हो । ठक्कर दिने कार र कार चालक मोरङ सुन्दरहरैचा ९ बस्ने ३० वर्षीय मोहमत दुलाल मिया र मोटरसाइकल इलाका प्रहरी कार्यालय बेलबारीको नियन्त्रणमा राखिएको छ ।
त्यस्तै कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगामा मिक्सचर ट्रकको ठक्करबाट एक जना सशस्त्र प्रहरीको मृत्यु भएको छ। बूढीगंगा गाउँपालिका– ४ गोकुवा चोकमा आइतबार प्रदेश १–०२–०५४ प ९२०२ नम्बरको मोटरसाइकललाई प्रदेश १–०२–००१ क ३७१३ नम्बरको मिक्सचर ट्रकले बजेतिर ठक्कर दिएको मोरङ प्रहरीले जनाएको छ । पूर्वबाट राजमार्गमा निस्किएर उत्तरतर्फ मोडिँदै गरेको मोटरसाइकललाई दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मिक्सर ट्रकले ठक्कर दिएको थियो।
मोटरसाइकलको पछाडि सवार सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण कंकालीनी टंकीसिनवारीमा कार्यरत सशस्त्र प्रहरी जवान २७ वर्षीय चन्द्रबहादुर तामाङको मृत्यु भएको मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए।