दमकको बेलडाँगीमा साप्ताहिक हाट सञ्चालनमा

दमक,२० भदौं । झापाको दमक नगरपालिका वडा न. ३ स्थित बेलडाँगी बजारमा साप्ताहिक रुपमा हरेक मंगलवार हाट लाग्न थालेको छ ।
दमकको वडा न. २ र ३ उत्तरी क्षेत्रका बासिन्दाहरुको कृषि वजारका रुपमा बिकास गर्ने उद्देश्यले साप्ताहिक रुपमा कृषि हाट सञ्चालनमा ल्याईएको वडाअध्यक्ष नबिन बरालले बताए ।
मंगलवार सञ्चालनमा आएको सो हाटको दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, उपप्रमुख रेगिना भटटराईप्रसाईले संयुक्त रुपमा उद्घाटन गरे ।
वडाअध्यक्ष बरालका अनुसार दमकको उत्तरी क्षेत्रकै पूरानो यस बेलडाँगी बजारमा हाट सञ्चालनमा आएपछि स्थानीयको आयआर्जनमा प्रत्यक्ष फाइदा पुग्ने अपेक्षा गरिएको छ । बेलडाँगी बजार दक्षिणमा एउटा बजार स्थापना गर्ने पाँच वर्ष अघि शुरुवात गरिएपनि हाट बजारले बल्ल सफलता पाएको वडाअध्यक्ष बरालले बताए ।
बेलडाँगी भुटानी शरणार्थी शिविर बसेको ठाउँ हो । भुटानी शरणार्थी तेश्रो देश पूर्नावास भएपनि बाकी रहेका ५ हजार बढी शरणार्थीहरु अहिले पनि शिविरमै आश्रित छन् । शिविरमा उत्पादन भएका उपभोग्य सामाग्री साथै स्थानीयहरुले उत्पादन गर्ने कृषिजन्य तथा अन्य उत्पादन किनबेच गर्नकालागि समेत यस हाटले महत्वपूर्ण भूमिका खेल्ने दमक उद्योग वाणिज्य सघंका अध्यक्ष गोपाल गुरागाई बताउँछन् ।
बजार स्थापना गर्नका लागि नगरपालिकाले स्थानीयको २ विगाहा बढी जमीन १५ वर्ष सम्मका लागि लिजमा लिएर तयार गरिएको हो । जग्गा धनीसंग गरिएका सम्झौता अनुसार बजारबाट आएको आम्दानीको ३५ प्रतिशत भाडा स्वरुप दिने र बाँकी ६५ प्रतिशत आम्दानी भने बजारको व्यवस्थापनका लागि खर्च गरिने उल्लेख छ ।
उनका अनुसार यहाँ बजार लगाउन विभिन्न पूर्वाधार निर्माण गर्न दमक नगरपालिकाले रु १ करोड २४ लाख र एलडब्लुएफ नेपाल यू एन हयाविट्याटसको तर्फबाट रु ८९ लाख र यूएनएचसीआरको रु १८ लाख गरी कुल रु २ करोड ३१ लख रुपैँयाको लगानी रहेको छ ।
यहाँ तरकारी तथा फलफूल बेच्नका लागी २० वटा स्टल, भुटानी शरणार्थीको आफ्नो व्यवसाय गर्नका लागी ३० स्टल र माछामासु बिक्रिका लागी १२ वटा स्टल निर्माण गरिएको छ ।
बेलडाँगी बजार शुभारम्भ कार्यक्रममा शरणार्थीको हेरचाहमा संलग्न एलब्लुएफका कार्यक्रम निर्देशक गोपाल दाहालले शिविरमा उत्पादन भएका सामाग्री बजारीकरणमा सघाउँ पुग्ने बताए ।
वजारका लागि दमक नगरपालिका र एलडब्लुएफको संयुक्त लगानीमा आवश्यक पर्ने टहराहरु निर्माण गरिएको छ । अहिले न्यूनतम भाडामा लगाइएका यी टहराको आम्दानीबाटै यो जमिनको भाडालाई बजार व्यवस्थापनमा खर्च गर्न सकिने गरि व्यवस्था मिलाईएको उपप्रमुख भट्टराईले जानकारी दिईन् ।
यसअघि दमकको दक्षिणी क्षेत्रमा पर्ने दमक १० को सेतुमारीमा साताको विहिबार हाटबजार सञ्चालनमा ल्याईएको थियो । नगर प्रमुख थापाले दमकको दक्षिणी र उत्तरी क्षेत्रमा कृषि हाटवजारको विस्तारले स्थानीयलाई फाईदा पुग्ने बताउँछन् ।
उनले अव केहि दिनमै दमक ८ मा निर्माण गरिएको नवनिर्मित अर्गानिक कृषि बजारको समेत चाडै नै उद्धघाटन गरि सञ्चालनमा ल्याईने तयारी भईरहेको बताए ।

Leave a Reply

Your email address will not be published.