दमक,८ भदौ । झापाको कमल -५ स्थित लखनपुर सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा नेपाली कांग्रेसहितको लोकतान्त्रिक साझा समूहले शनिवार उम्मेदवारी घोषणा गरेको छ ।
कांग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनको सो समूहले कमल -५ मा पाडाजुंगीस्थित रोडस्टार पार्टी प्यालेसमा औपचारिक कार्यक्रम गरि कार्यसमिति तथा लेखा समितिमा आफना उम्मेदवार सार्वजनिक गरेका हुन् ।
सो साझा समूहबाट अध्यक्षमा कांग्रेसका राजकुमार न्यौपाने(राजु ),उपाध्यक्ष कांग्रेसकै दिनेश अधिकारी,सचिवमा नेकपा माओवादी केन्द्रका निधिरत्न अधिकारी र सहसचिवमा माओवादीकै विमला भट्टराईलाई उम्मेद्धवार बनाएको छ ।
खानेपानीको धारा रहेका उपभोक्ता रहेको कमल गाउँपालिकाको कमल ४,५,६ र ७ वडालाई ५ वटा क्षेत्र निर्धारण गरिएअनुसार उमेदवारी घोषणा गरिएको हो ।
जसमध्ये क्षेत्रन. १ बाट सदस्यतर्फ पुण्य खतिवडा,कमला राई (गुरुङ),क्षेत्र न.२ बाट भीष्म सिटौला,लोभिता राई (सविता) र क्षेत्र न.३ बाट कृष्णबहादुर पाण्डेलाई उम्मेदवार बनाएको छ । यसैगरी क्षेत्र न.४ बाट प्रेमबहादुर कार्की,सावित्रा दाहाल(उप्रेती),क्षेत्रन ५ बाट टंक चम्लागाई र नैनकला सेढाईलाई सदस्यको उम्मेद्धवार बनाएको छ । यसैगरी लेखा समिति संयोजकको उम्मेद्धवार धर्मानन्द भट्टराई र सदस्यहरु सुरज कुमार कुमाल र मोनिका राईलाई उम्मेद्धवार घोषणा गरेको छ ।लेखा संयोजक भट्टराई वर्तमान लेखा संयोजक समेत हुन् ।
कांग्रेस कमल सभापति खगेन भण्डारीको अध्यक्षतामा भएको उम्मेद्धवार घोषणा कांग्रेस कोशी प्रदेश सदस्य तथा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईको प्रमुख आतिथ्यतामा भएको थियो । त्यस अवसरमा अध्यक्षका प्रत्यासी न्यौपानेले खानेपानी उपभोक्ताहरुको हितका लागि आफूहरुले काम गर्ने प्रतिवद्धता गरे ।कार्यक्रममा साझा समूहले खानेपानीको विविध विषयलाई समेटेर २४ वुद्धे प्रतिवद्धता पत्र समेत सार्वजनिक गरेको थियो ।
लखनपुर खानेपानीका उपाध्यक्ष राजेन्द्र संग्रौलाले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा प्रमुख अतिथि राई , माओवादीका कोशी प्रदेशका नेता गगन पुरी,कांग्रेस झापाका उपसभापति शेरवहादुर भट्टराई ,कमल -५ का वडाअध्यक्ष एलवी विष्ट ,कांग्रेस नेतृ चन्द्रा खड्का भटटराई, दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष रवि केसी लगायतले बोलेका थिए ।
असोजको दोश्रो साता हुने खानेपानीको निर्वाचनमा यसअघि एमाले,जसपा र राप्रपाको गठबन्धनले पनि उम्मेदवारी घोषणा गरिसकेको छ । सो गठबन्धनबाट कमल -५ का पूर्व वडाअध्यक्ष समेत रहेका एमालेका डम्बरबहादुर निरौलालाई अध्यक्षमा उम्मेदवार बनाएको छ ।
लखनपुर खानेपानीको चुनावी साधारण सभा पहिलो पटक शुरु भई बन्द सत्रमा गणपुरक संख्या उपस्थित नरहेका कारण ६ भाद्रमा स्थगित छ भने दोश्रो पटकका लागि यही भाद्र १३ गते बोलाइएको छ । सो सभाले आगामी निर्वाचनको मिति टुंगो लगाउने बताइएको छ ।