
दमक,३१ साउन । दमक उद्योग बाणिज्य घले कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाखदेखि गरिएको निषेधाज्ञाका कारण धरासायी बन्दै गएको उद्योग व्यवसाय सञ्चालन गर्नका लागि सहज वातावरण बनाईदिन माग गरेको छ ।
जारी निषेधज्ञाले व्यापार,व्यवसाय चौपट हुन पुगेको भन्दै त्यसको उपयुक्त बिकल्प खोजेर पूर्वतः उद्योग व्यवसाय सुचारु हुने वातावरण तयार गरिदिन संघले सरोकार पक्षसंग माग अघि सारेका हुन् ।
लामोसमयदेखिको निषेधज्ञाले उद्यमी व्यवसायीहरुलाई मात्र सटर कोठा बन्द गराउने र राजमार्ग भने खुला गरिदै आएकाले त्यसले संक्रमण रोकथाम तथा नियन्त्रण हुन नसक्ने भन्दै निषेधज्ञाको उपयुक्त विकल्प खोज्न माग गरिएको संघले जनाएको छ ।
संघमा सम्मिलित उद्यमी,व्यवसायीको आज एक टोली दमक नगरपालिकासहित जिल्ला प्रशासन कार्यालय झापामा पुगेर त्यस्तो माग गरिएको संघका अध्यक्ष गोकुल श्रेष्ठले बताए । लामो समयदेखिको निषेधज्ञाका कारण उद्योग व्यवसायहरु मात्र धरासायी बन्दै गइरहेकाले अव निषेधज्ञामा पनि व्यापार ,व्यवसाय सञ्चालन गर्ने वातावरण बनाईदिन माग गरिएको उनले बताए ।
एकातिर कोरोना संक्रमण तीव्र फैलिदै गएको छ भने अर्कातिर जारी निषेधाज्ञाका कारण दैनिक रुपमा व्यवसाय सञ्चालन गरी गुजारा गर्ने निम्न स्तरका व्यवसायीहरुको हातमुख जोर्न समेत कठिनाई हुदै गएको उल्लेख गर्दे उनले भने ,–‘ तत्काल यी दुवै समस्याको हल हुने गरी वैकल्पिक उपायको खोजी गर्न आग्रह गर्दछौ । ’
उनले अव थपिने निषेधज्ञाको अन्य क्षेत्रलाई खुला रुपमा सञ्चालन गर्न नदिए निषेधज्ञाको उलङघन गरी आ–आफ्नो व्यापार –व्यवसाय सञ्चालन गर्न बाँध्य हुने चेतावनी दिए ।
संघको माग पत्रमा भनिएको छ ,–‘आंशिक रुपमा दैनिक केहि घण्टाका लागि मात्र पसल व्यवसाय खुला गरिदा मानिसहरुको भिडभाड अझ बढ्न जाने र संक्रमण अझ फैलने जोखिम रहेको हुँदा आंशिक रुपमा गरिने बन्दको समेत कुनै औचित्य नहुने ठहर गर्दै गरी पसल व्यवसायहरु पूर्ण रुपमा खुल्ला राख्ने व्यवस्था मिलाउनका साथै उद्यमी व्यवसायीहरुलाई पहिलो प्राथमिकतामा राखी कोभिड विरुद्धको भ्याक्सिन प्रदान गर्ने व्यवस्था मिलाइदिनुहुन अनुरोध गर्दछौं ।’
संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा विधि अनिवार्य रुपमा पालना गरि अव हुने निषेधज्ञामा विहानदेखि साँझसम्म व्यापार व्यवसाय सञ्चालन गर्ने वातावरण निर्माण गरिदिन गराई संघले माग गरिएको वरिष्ठ उपाध्यक्ष गोपाल गुरागाईले बताए ।
निषेधाज्ञाको उपयुक्त विकल्प खोजी कोरोना संक्रमण नियन्त्रणका लागि गत वैशाख महिनादेखि नै निषेधाज्ञा जारी गरि पसल व्यवसायहरु बन्द गरिए तापनि यस्तो किसिमको निषेधाज्ञाले न त संक्रमण नै नियन्त्रण गर्न सकेको छ, न संक्रमण वृद्धि दर नै रोक्न नसकेकाले अव निषेधज्ञालाई उपयुक्त बिकल्प खोजेर सहज वनाउदै लैजानु पर्ने उनले बताए ।गत साउन १६ गतेदेखि झापा जिल्लाभर लागू गरिएको सिल सोमबारसकिदैँ छ । सोमबार बस्ने डिसीसीएमसीको बैठकले व्यवसायीको मागको सम्बोधन गरिने जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख श्रवणकुमार तिमिल्सिनाले प्रतिबद्धता जनाए ।