सडक डिभिजन दमकद्धारा गएको वर्ष ३३ किमी सडक कालोपत्र

दमक,२२ साउन । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । उनले भने, “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”
सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु २२ करोड ८५ लाख ५८ हजारमध्ये सबै अर्थात् शतप्रतिशत खर्च भएको छ । दमक–चिसापानी सडकका लागि विनियोजित रु छ करोडमध्ये रु दुई करोड ५० लाखमात्र खर्च भएको छ । यसैगरी राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि विनियोजित रु ११ करोड ५५ लाख ५५ हजारमध्ये रु नौ करोड ७५ लाख ६६ हजार खर्च भएको छ ।
त्यस्तै स्थानीय सडक पुल निर्माण शीर्षकको बजेट खर्च प्रतिशत ९८ दशमलव ४८ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकको बजेट खर्च प्रतिशत ८९ दशमलव ९० प्रतिशत र सडक बोर्डको बजेटको ९० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सूचना अधिकारी देवका अनुुसार गत अवमा पुँजीगततर्फ कुल विनियोजित बजेटको ८९ दशमलव ६२ प्रतिशत खर्च भएको छ । आर्थिक वर्ष २०७९-८० मा समग्र बजेटको ७४ दशमलव ५४ प्रतिशत खर्च भएको थियो ।

Leave a Reply

Your email address will not be published.