झापा, ८ असार । ट्रकको ठक्करबाट इलाममा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक बझाङ बित्थडचिर गाउँपालिका वडा नं १ बस्ने २६ वर्षीय मदनबहादुर बोहोरा र पछाडी सवार जाजरकोट छेडागाडा नगरपालिका -८ बस्ने २३ वर्षीया सिर्जना गिरी रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो ४.१० बजे इलाम रोङ गाउँपालिका- ३ पाथले डाँडास्थित मेची राजमार्गमा झापाबाट इलामतर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ४५४७ न.को ट्रकले बिपरित दिशाबाट आउँदै गरेको बा ८९ प २२६६ न.को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
घाइतेद्धयलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुवैको शव सोही अस्पतालमा रहेको छ ।
दुर्घटनापछि ट्रक र ट्रक चालक पाँचथर कुम्मायक गाउँपालिका ९ बस्ने ३३ वर्षीय नितेश बुढाथोकीलाई नियन्त्रणमा लिई प्रहरी चौकी फिक्कलमा राखिएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।