कनकाई,८ असार । झापाको कनकाई निवासी कार्टुनिष्ट समेत रहेका प्राज्ञ पवन राजवंशीको जीवनी अब विद्यार्थीहरुले पढ्न पाउने भएका छन् ।कन्काई नगरपालिका अन्तरगतको शिक्षा, युवा तथा खेलकुद शाखाले स्थानीय विषयका रुपमा तयार पारिएको पाठ्यपुस्तकमा राजवंशीको जीवनी समेत समेटिएको छ । नगरपालिकाले स्थानीय विषयका रुपमा कक्षा–७ मा कनकाई ज्ञानमाला तयार गरेको हो ।
ज्ञानमालामा नगरभित्रका कला सहित्य, गीत–संगीत, समाजसेवा मार्फत समाज र राष्ट्रलाई योग्दान पु¥याँउने ब्यक्तिहरुको विषयलाई समेटेर नगरले स्थानीय पाढ्यक्रम तयार गरेको हो ।
जसमा प्राज्ञ राजवंशीको बारेमा समेत पाढ्य पुस्तक तयार गरेको हो । कनकाई ज्ञानमाला अन्तरगत एकाई–४ मा राष्ट्र र राष्ट्रियता शिर्षक अन्तरगत प्राज्ञ राजवंशीको ब्यक्तित्वको चर्चा गर्दै जीवनी समेटिएको छ । जसमा प्राज्ञ राजवंशीसहित राजा राजेन्द्र पोख्रेल, हिम्मत नेम्वाङ, मित्रप्रसाद दाहाल, कोमलप्रसाद पोख्रेल र गोपालप्रसाद सङ्ग्रौलाको जीवनी समेत समेटिएको छ ।
स्थानीय पाठ्यक्रममा कुनै व्यक्तिको नाम समावेश हुनु भनेको त्यो व्यक्ति मात्र होइन, सम्पूर्ण समाजको गौरव र प्रेरणाको प्रतिक बन्दै अहिले समाजिक सञ्जालहरुमा चर्चा भइरहेको छ । प्राज्ञ राजवंशीले स्थानीय तहको शैक्षिक पाठ्यक्रममा समावेश हुनु गौरवको विषय भएको प्रतिक्रिया दिएका छन् ।पत्रकार समेत रहेका कार्टुनिष्ट राजवंशीको जीवनी कनकाई नगरपलिकाको कक्षा ७ को स्थानीय पाठ्यक्रम कनकाई ज्ञानमालाको पेज नं.१२२ र १२३ मा समावेश गरिएको छ । चित्रकलाका माध्यमबाट नेपाली कला र संस्कृतिको विकासका लागि अनवरत साधना गरिआएका राजवंशी कनकाई नगरपालिका–९ घैलाडुब्बा(मन्त्रीबारी) निवासी हुन् ।