दमक,३१ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानविन हुने बताएका छन् । सरकारले भिजिट भिसा प्रकरणमा एक महीना भित्रमा छानवीन गर्ने प्रतिबद्धता जनाएका कारण आफूहरुले संसदको अवरोध हटाएको उनले बताएका छन् ।
शनिबार झापाको कमल गाउँपालिकामा माओवादीनिकट पाँचवटा जातीय मोर्चाको सम्मेलनलाई सम्बोधन गर्दै उनले एक महिनाभित्र पनि छानविन नभए फेरि आन्दोलन गरिने बताएका हुन् । उनले सरकार छानविन गर्न तयार भएपछि संसदमा धेरै काम भएका कारण अवरोध हटाएको दाबी गरे ।
शुक्रबार सत्तापक्ष र माओवादीबिच दुई बुँदे सहमति भएपछि माओवादीको आलोचना भइरहेको छ । यद्यपि उनले सदनमा जनताका मुद्दामा बहस गर्न संसदको अवरोध हटाएको बताए । ‘संसद अधिवेशन अवरुद्ध थियो । सरकार एक महिनाभित्र समिति बनाएर छानविनमा जान तयार भएपछि हामीले अधिवेशन गरेर बहस गर्न जरुरी छ भनेर सहमति गरेका हौँ । किनकि जनता मुद्दा सदनभित्र छ । निजामती विधेयक, शिक्षा विधेयक, नागरिकता विधेयक सदनमा छ । मैले प्रधानमन्त्री हुँदा धेरै मिहिनेत गरेर ल्याएका विधेयक हुन् ।
देशभरका शिक्षक हेरेर बसेका छन् । कांग्रेस एमालेप्रति शिक्षकहरूलाई विश्वास छैन,’ उनले भने,‘ शिक्षा ऐनको जिम्मा माओवादीले लिनुपर्छ भन्नेछ । सदनमा माओवादीका कारण विधेयक पुगेको हो । त्यही भएर छलफल गरेर टुंग्याउने जिम्मेवारी पनि माओवादीको छ । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी पनि छ । त्यही कारण माओवादीले अनन्तः कालसम्म सदन अवरुद्ध गर्नु भनेको राम्रो हुँदैन । सदन अवरुद्ध गर्नु ऐन पास हुन नदिनु होे । तसर्थ हामीले सहमति गरेका हौँ ।’
अध्यक्ष प्रचण्डले सरकारलाई एक हदसम्म छानविन गर्न बाध्य पारेर राष्ट्र र जनताको वृहत्त हितका लागि सदन खोल्ने सहमति गरेको बताए । ‘तर, एकथरी मान्छेहरू खत्तम भयो, जहाजै डुब्यो, आकाशै खस्यो, धर्ती नै भासियोजस्तो गरेका छन् । यो बिलकुल वाइयाद कुरा हो । हामी एउटा जिम्मेवार पार्टी मात्र हैन संघीय लोकतान्त्रिक गण्तन्त्रको स्वामत्वि र अपनत्व लिने पार्टी पनि हो,’ प्रचण्डले भने, ‘हामीले थुप्रै ऐनको पहल गरेका छौँ । त्यो पास गर्नुपर्छ । हामी त्यसको ठेक्का र जिम्मा कांग्रेस एमालेलाई छाड्न सक्दैनौँ । हामी बहस गर्न चहान्छौँ । हामीले जे गरेका छौँ विवेक पु¥याएर गरेका छौँ । आन्दोलन त एक महिनापछि सरकारले समिति बनाएन भने त्यही टेकेर गर्न सकिन्छ । हामीले अरूले भनेको जस्तो छोडे भनेजस्तो हैन ।’
उनले निरंकुश राजावादी राजेन्द्र लिङ्देनले माओवादीले आत्मसमर्पण ग¥यो भन्नु रहस्यमय भएको बताए । प्रचण्डले पछिल्लो समय माओवादीको क्रेज देशभर बढेकाले षडयन्त्र भएको बताए । ‘अहिले माओवादी सत्तामा जाने भयो भन्ने कुरा गरे । त्यो कुरै भएको छैन । त्यो निकै षडयन्त्रपूर्वक भनिएको छ । अहिले देशभर जनतामा माओवादी र प्रचण्डको क्रेज बढ्दै गएकोे देखेर अरूलाई छटपट भएको छ,’ प्रचण्डले भने,‘ यो छटपटी राजावादीलाई पनि भएको छ । यथास्थितिवादीलाई पनि भएको छ । देशी र विदेशीलाई पनि भएको छ । माओवादीलाई बदनाम गर्ने नियोजित षडयन्त्र भएको छ । हामी एउटा अभियानमा अघि बढेका छौँ । त्यहाँबाट पछि हट्ने छैनौँ ।’ उनले दुई बुँदे सहमतिपछि भएको चर्चामा कार्यकर्तालाई तरंगित नहुन आग्रह गरे ।