दमकका राजन सुवेदी चेसमा बने ‘च्याम्पियन’

दमक ,२५ जेठ । दमकका राजन सुवेदी नेपाली चेसका नयाँ च्याम्पियन बनेका छन् ।२४ औं नेशनल चेस च्याम्पियनसिपमा उनले अन्तिम तथा ११औं चरणमा बिहीबार प्रेमकृष्ण महर्जनलाई पराजित गर्दै उपाधि जितेका हुन् ।
नेपालका उत्कृष्ट १२ खेलाडी सहभागी नेसनल चेस च्याम्पियनसिप २०२४ को राउन्ड रोबिन लिगको अन्तिम खेल जितेपछि राजनले सर्वाधिक ८ अंक बनाएर च्याम्पियन भएका हुन् ।१९५९ रेटिङका उनले कालो गोटीबाट खेल्दै १९२३ रेटिङका प्रेमकृष्णविरुद्ध पूरा एक अंक हात पारे । उनले ७ जित, २ बराबरी र २ हारको नतिजा निकाल्दै ८ अंक बनाएका हुन् ।
३५ वर्षीय राजनले नयाँ विजेता बनेसँगै सेप्टेम्बरमा हंगेरीमा हुने ४५औं चेस ओलम्पियाडको लागि नेपाली टिममा स्थान सुरक्षित गरेका छन् ।
लुम्बिनी इभेन्ट्स म्यानेजमेन्ट र नेपाल बुद्धिचाल महासंघद्वारा संयुक्त रूपमा लाजिम्पाटस्थित होटल हिमालयमा आयोजित च्याम्पियनसिप पुरुषतर्फ २४औं र महिलातर्फको नवौं संस्करणको राष्ट्रिय प्रतियोगिता हो ।

 

Leave a Reply

Your email address will not be published.