बुद्धशान्तिमा अक्सिनजनसहितको आइसोलेसन सेन्टर सञ्चालनमा

बुद्धशान्ति, ३ जेठ । कोरोना भाइरसको संक्रमणबाट देशभर सर्वसाधारणले गम्भिर स्वास्थ्य संकटको सामना गरिरहेको सन्दर्भमा झापाको बुद्धशान्ति गाउँपालिकाले भने व्यवस्थित रुपमा पूर्वतयारी गरेको छ । गाउँपालिकाले देशभरको कोभिडको विग्रँदो अवस्था देखेरै स्थानीय तहले सतर्कता अघि बढाएको हो ।
त्यसका लागि पालिकाले संक्रमितहरुको उपचारका लागि अक्सिजनसहितको हाइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ । त्यहाँ उपचार गर्न आउनेलाई कुनै पनि शुल्क नलाग्ने गाउँपालिकाले जनाएको छ ।
अक्सिजनको अभावले देशभर हाहाकारको अवस्था सृजना भईरहँदा बुद्धशान्ति गाउँपालिकाले भने स्थानीय बासिन्दालाई अक्सिजनको अभाव हुन नदिन १५ बटा अक्सिजन सिलिन्डरको व्यवस्थापन गरि सुविधायुक्त आइसोलेसन सेन्टर सञ्चालनमा ल्याईएको गाउँपालिका अध्यक्ष रमेशकुमार भुजेलले बताउनु भयो । ती अक्सिजन विभिन्न ठाउँबाट जुटाइएको हो ।

बुद्धशान्ति गाउँपालिकामा कोरोना संक्रमितको संख्या सय नाघिसकेको अवस्थामा सर्वसाधारणमा आउनसक्ने संकटलाई ध्यानमा राखेर पालिकाले महिला सामुदायिक अस्पताल तथा अनुसन्धान केन्द्रको निर्माणाधिन भवनमा आइसोलेसन सेन्टर सञ्चालनमा ल्याईएको गाउँपालिकाकी उपाध्यक्ष मिरा भूर्तेलले बताइन् । आइसोलेसन सेन्टरमा हालसम्म कोहि विरामीलाई ल्याउनुपर्ने अवस्था नभएपनि पूर्व तयारी अवस्थामा गाउँपालिका रहेको उनले बताइन् । विरामीको उपचार गर्न सकेको अवस्थासम्म स्वास्थ्यकर्मीले यही आइसोलेसन सेन्टरमा गर्ने र विरामीको अवस्था थप जटिल भए अन्यत्र रेफर गरिने बुद्धशान्ति स्वास्थ्य शाखा प्रमुख भोला अधिकारीले जानकारी दिए ।

१५ बेडको आइसोलेसन सेन्टरमा आवश्यक स्वास्थ्यकर्मीको परिचालन गरिएको छ ।

Leave a Reply

Your email address will not be published.