दमक,२ जेठ । दमक-१० स्थित सिंहदेबी माध्यमिक बिद्यालयले बिद्यालयस्तरबाटनै पहिलो पटक उद्यमशीलता तालिम दिन थालेको छ । दमक नगरपालिकाको आर्थिक सहयोगबाट बिद्यालयले बिद्यार्थी लक्षित विद्युत जडान सम्बन्धिको तालिम शुरु गरेको हो । सो तालिम शुक्रबारबाट बिद्यालयमा शुरु गरिएको हो । बिद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञानसंगै बिद्यालयस्तरबाटनै जीवन उपयोगी ब्यवहारिक ज्ञानदिने उद्देश्यले प्रयोगात्मक तालिम शुरु गरिएको प्रधानाध्यापक सोमनाथ बरालले बताए ।
आधारभुत तालिम अन्तर्गत पहिलो चरणमा कक्षा १० देखि कक्षा १२ सम्मका ३० जना बिद्यार्थीहरुलाई समाबेश गरिएको प्रधानाध्यापक बरालले जानकारी दिए । दमक नगरपालिकाको शिक्षा सुधार कार्यकम अन्तर्गत पहिलो चरणमा १ लाख रुपैयाको आर्थिक सहयोगबाट तालिम दिन शुरु गरिएको जनाइएको छ । तालिम ३ महिनासम्म चल्ने छ ।
विद्युत बाईरिङको आधारभुत तालिमसंगै निकट भबिष्यमा परम्परागत सीप बिकासका लागि नगरपालिकाको रु ४० हजारको आर्थिक सहयोगबाट कक्षा ६ देखि माथिका बिद्यार्थीहरुलाई बाँसजन्य सामाग्री निर्माणको तालिम दिन लागिएको जनाइएको छ ।
बिद्यालयस्तरबाटनै सञ्चालन गरिएका यस्ता तालिमले बिद्यार्थीलाई सैद्धान्तिक शिक्षा संगै ब्यबहारिक ज्ञान प्राप्त गरी आत्मनिर्भर बन्न सहयोग पुग्ने आशा गरिएको छ ।
हाल यो बिद्यालयमा कक्षा शिशुदेखि १२ सम्ममा ५ सय ५० जनाको हाराहारीमा बिद्यार्थीहरु अध्ययनरत रहेको बिद्यालयले जनाएको छ ।