सङ्क्रमितको घरघरै अक्सिजन पुर्याउँदै मेचीनगर

मेचीनगर, २४ वैशाख । मेचीनगर नगरपालिकाले होम आइसोलेसनमा कोरोना सङ्क्रमित नगरबासीलाई घरघरै औषधि स्वास्थ्य परीक्षण र अक्सिजन पुर्याउने भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले संक्रमितहरुको उपचारका लागि औषधिसहित अक्सिजन उपलव्ध गराउने व्यवस्था गर्न लागिएको वताए ।
उनका अनुसार वडा नं ११ धाइजनमा ३० बेडको आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको र होम आइसोलेसनमा रहेका सङ्क्रमितलाई चिकित्सक टोलीले घरै पुगेर स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

नगरपालिकाले वडा नं ४ का अध्यक्ष नविन बरालको संयोजकत्वमा नगरस्तरीय कोभिड नियन्त्रण समिति र हरेक वडामा वडाध्यक्षको संयोजकत्वमा वडास्तरीय समिति गठन गरिसकेको ओझाले जानकारी दिए ।

‘कुनै पनि नगरवासीले होम आइसोलेसनमा कुनै असुविधा भोग्नु पर्नेछैन,’ नगरस्तरीय वडा समितिका संयोजक बरालले पत्रकारहरुसँग भने–‘दिउँसो होस् या राति जुनसुकै समयमा हामी औषधि बोकेर होम आइसोलेसनमा पुग्नेछौं ।’

नगरपालिकाले आजै धाइजनको ३० बेडको आइसोलेसन वार्डमा थप १५ वटा अक्सिजन सिलिन्डर पुर्याएको जनाएको छ ।

यसअघि त्यहाँ १५ वटा अक्सिजन सिलिन्डर तयारी अवस्थामा राखिएको थियो । नगरपालिकाले सिलिन्डर अक्सिजनको अभावमा घरमै बसेरै लगाउन सकिने १०० वटा हाते अक्सिजन प्याक -डिस्पोजेबलको व्यवस्था मिलाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओझाले बताए ।

नगरभित्रका एम्बुलेन्सका चालकहरुलाई पीपीई, ग्लोब स्यानिटाइजर र मास्क उपलब्ध गराइएको र कोरोना सङ्क्रमितका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइएको ओझाले बताए ।

कोरोना नियन्त्रणमा खटिएका नगरका स्वास्थ्यकर्मीलाई तलबको ५० प्रतिशत थप सुविधा उपलब्ध गराइने र अन्य स्वास्थ्यकर्मीहरुलाई समेत २० प्रतिशतसम्म सुबिधा थप गरिने उनले जानकारी दिए ।

विर्तामोडमा सुरु भयो ‘टेम्पो एम्बुलेन्स’
विर्तामोड नगरपालिकाले संक्रमितहरुको उपचारका लागि अस्पतालसम्म लैजान आकस्मिक रुपमा निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरेको छ । आजदेखि पूर्ण निःशुल्क टेम्पो एम्बुलेन्स सेवा सुरु गरिएको नगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत देवराज कार्कीले बताए ।

नगरपालिकाले जनाए अनुसार जिल्ला टाफिक प्रहरी कार्यालय विर्तामोडमा रहने गरी २ वटा टेम्पो व्यवस्था गरिएको छ । जसले नगरको कुनै पनि स्थानबाट विरामीलाई नजिकको अस्पताल दौडाउनु परेमा तुरुन्त सेवा दिनेछ । कसैलाई टेम्पो सेवा चाहिएमा ०२३ ५३०२९९ मा सम्पर्क गर्न सकिने बताइएको छ ।

Leave a Reply

Your email address will not be published.