
झापा, १८ बैशाख । झापामा थप ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार ३७ महिला र ३५ पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
संक्रमितहरुमा बिर्तामोडमा १३ जना, भद्रपुरमा २४ जना, अर्जुनधारामा ८ जना, मेचीनगर र कन्काईमा ७,७ जना रहेका छन् ।
त्यस्तै गौरादहमा ४ जना, बुद्धशान्तिमा ३ जना र हल्दिबारीमा २ जना रहेका छन् । गौरीगञ्ज, कचनकबल र बाह्रदशीमा १,१ जना संक्रमण पुष्टि भएको हो । यो संगै झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या ४१० पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
कोरोनाबाट आमा-छोराको मृत्यु
सुनसरीको इनरुवाका कोरोना संक्रमित आमा छोराकै मृत्यु भएको छ । उनीहरुको तीन दिनको अवधिमा मृत्यु भएको हो । ८४ वर्षिया आमाको होम आइसोलेसनमा मृत्यु हुँदा अन्दाजी ६४ वर्षिय छोराको भने उपचारको क्रममा कोशी कोभिड अस्पताल बिराटनगरमा ज्यान गएको छ ।
सुनसरी प्रशासनका अनुसार संक्रमित पुरुषलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । प्रशासनले तीन दिनको अवधिमा आमा छोराकै ज्यान गएको र परिवारका अन्य व्यक्ति समेत संक्रमित रहेकाले घर रहेको आसपासको क्षेत्रमा सिल गर्ने विषयमा छलफल थालिएको जनाएको छ ।
मृतकको परिवारमा एकसाथ ९ जनामा संक्रमण देखिएको थियो । संक्रमित पाइएका परिवारका ७ जना अझै होम आइसोलेसनमा छन् । उनीहरु मध्ये केहिको अवस्था अझै जटिल रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । इनरुवामा पछिल्लो एक साताको अवधिमा कोरोना संक्रमित ३ जनाले ज्यान गुमाएका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङ भने खुल्न सकेको छैन् ।
ताप्लेजुङमा कोरोना सङ्क्रमणबाट दुईको मृत्यु
ताप्लेजुङमा कोभिड–१९ को सङ्क्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । फुङ्लिङ नगरपालिका–४ क्याम्पस लाइन निवासी एक पुरुष र वृद्धा महिलाको सङ्क्रमणका कारण मृत्यु भएको हो ।
प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहनुभएका ६० वर्षीय पुरुषको शनिबार दिउँसो मृत्यु भएको हो । कोरोना सङ्क्रमण भएपछि केही दिनअघिदेखि प्रतिष्ठानमा भेन्टिलेटरमा राखेर उहाँको उपचार गराइँदै आएको थियो ।
यस्तै, शुक्रबार राति ८५ वर्षीया वृद्धाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । लामो समयदेखि मुटुरोगबाट ग्रसित वृद्धालाई झापास्थित बिर्तासिटी अस्पतालमा उपचार गराएर शुक्रबार घर फर्काइएको थियो । घर फर्काएकै दिन राति वृद्धाको मृत्यु भएको परिवारका आफन्तले आपूmलाई जानकारी गराएको प्रजिअ पाण्डेले बताए । पाण्डेका अनुसार ती वृद्धाको एन्टीजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो ।
यता मृतक वृद्धाको दाहसंस्कार भने परिवार आफैँले गरेका छन् । परिवारले नै शनिबार दाहसंस्कार गरेका र दाहसंस्कारमा संलग्न परिवारका चारजना सदस्यलाई चार थान व्यक्तिगत सुरक्षा उपकरण (पिपिई ) उपलब्ध गराइएको थियो । जनस्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर शवको अन्त्येष्टि गर्न मृतकका आफन्तलाई सुझाव दिएको प्रजिअ पाण्डेले बताए।
यसअघि फुङ्लिङ नगरपालिका–६ कोठेबारीका ५२ वर्षीय एक पुरुषको कोरोना सङ्क्रमणकै कारण मृत्यु भएको थियो । ती पुरुषको भने नेपाली सेनाले अन्त्येष्टि गरेका थिए । हाल ताप्लेजुङमा २१ जना सक्रिय सङ्क्रमित रहेका जिल्ला अस्पतालका डाक्टर सोनिङ लामाले जानकारी दिए।