काठमाडौं, १८ बैशाख । भारतमा एक दिनमै थप ४ लाखभन्दा बढी व्यक्तिलाई कोरोना संक्रमण भएको छ। २४ घण्टाभित्र भेटिएका संक्रमितको यो संख्या विश्वमै अहिलेसम्मकै बढी हो।
बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टा (शुक्रबार राति ११ बजेसम्म ) मा थप ४ लाख ८ हजार ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणका कारण ३ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ।
भारतमा अहिलेसम्म कोरोना संक्रमणमा परेका व्यक्तिको कूल संख्या १ करोड ९१ लाख ६३ हजार ४८८ पुगेको छ भने यसकै कारण मृत्यु भएकाको संख्या २ लाख ११ हजार ७८८ पुगिसकेको छ।
भारतसँगका २२ नाका बन्द गर्न सीसीएमसीको सिफारिस
कोरोना संकट व्यवस्थापन समिति (सीसीएमसी )ले भारतसँगका २२ वटा सिमानाका बन्द गर्न सिफारिस गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले ३५ वटा नाकामध्ये २२ वटा बन्द गर्न मन्त्रिपरिषद्मा सिफारिस गरेको हो।
समितिको सिफारिस अनुसार काँकडभिट्टा, जोगवी, पशुपतिनगर, भिट्टामोड, गौर, वीरगन्ज, बेलहिया, कृष्णनगर, जमुना, मुलघाट, झुलाघाट, गौरिफन्टा र गड्डाचौकी नाका मात्रै सञ्चालन गर्न सिफारिस गरेको जनाइएको छ।
हवाइ उडान स्थगित गर्न सीसीएमसीको सिफारिस
कोभिड १९ संकट व्यवस्थापन समिति (सीसीएमसी ) ले अन्तराष्ट्रिय र आन्तरिक उडान रोक्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको छ ।
शुक्रबार बसेको सीसीएमसीको बैठकले संक्रमण भयावह बन्दै गएको निष्कर्षसहित हवाइ उडान रोक्नुपर्ने निष्कर्ष निकालेको हो । सीसीएमसी स्रोतकाअनुसार सीसीएमसीका निर्देशक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलले यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजानेछन् । त्यसपछि सीसीएमसीको सिफारिसमाथि निर्णय हुनेछ ।
हाल संक्रमण बढी देखिएका जिल्लामा प्रशासनले निषेधाज्ञा लगाएका छन् । हवाई सेवामा चाहिँ रोक लगाइएको थिएन ।