
कुमरखोद , १७ बैशाख । कोरोना संक्रमितको जिल्लाको झापा गाउँपालिकाका एक जना पुरुषको फेरि मृत्यु भएको छ । गाउँपालिकाका दुई दिनमा यहाँ दुई जना कोरोना संक्रमितको मृत्यु भएको हो । झापा गाउँपालिका वडा नं ४ का गणेश थरका ५७ वर्षिय पुरुषको आज बिहान नोवेल हस्पिटल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो ।
भारतको जम्मुकाश्मिरमा कामको सिलसिलामा गएका उनी विरामी भएर बैशाख १२ गते फर्केका थिए । त्यसपछि उनलाई धरानको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यहाँ निको नभएपछि नोवेल ल्याइएको थियो । विहान ३ बजेतिर उनको मृत्यु भएको जनाइएको छ ।यसअघि बुधबार सोही वडाका ५५ वर्षिय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको थियो ।
विराटनगर घर भएकी सङ्क्रमित महिलाको मृत्यु
विराटनगर घर भएकी कोरोना भाइरस सङ्क्रमित महिलाको उपचारका क्रममा मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पताल मृत्यु भएको छ । अस्पतालको आइसोलेसनमा विराटनगर महानगरपालिका–७ की ५४ वर्षीया महिलाको आज बिहान ज्यान गएको हो । कोरोना सङ्क्रमणपछि अवस्था चिन्ताजनक बनेकी महिलाको बिहान ३ः३० बजेतिर मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।
उनका अनुसार कोरोना पुष्टि भएपछि महिलालाई यहि वैशाख १४ गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । ‘अस्पताल भर्ना गर्दा नै अवस्था धेरै गम्भीर,’ उनले भने, ‘तत्काल उपचार थाल्दै जीवितै राख्ने प्रयास गरिएको भए पनि सम्भव हुन सकेन ।’ देवका अनुसार कोरोना संक्रमण पुष्टि भएपछि महिलामा श्वासप्रश्वासको समस्या थपिएको थियो । मृतकमा मधुमेहको पुरानै समस्या रहेको जानकारी उनले दिए । देवले मृतक महिलाको शव व्यवस्थापनका लागि पहल भइरहेको बताए ।