भद्रपुर, १३ वैशाख । नेपाल बार एशोसिएसन झापाले कोभिड -१९को महामारीले विश्वव्यापी रुपमा पारेको प्रभाव प्रति चिन्तित हुँदै आम नागरिकको स्वास्थ्यप्रति तीन तहकै सरकार संवेदनशिल बन्न आग्रह गरेको छ ।
बार एशोसिएसन झापा तथा सोहि मातहत रहेको मानव अधिकार तथा जनसरोकार समितिले सोमवार प्रेस विज्ञप्ती जारी गर्दै संघीय, प्रादेशिक तथा स्थानीय सरकारले नागरिकको स्वास्थ्य सुरक्षा प्रति समयमै संवेदनशिल बन्नुपर्ने अन्यथा समस्या जटिल बन्ने विज्ञप्तीमा उल्लेख छ ।
सरोकार समिति संयोजक टंकप्रसाद दंगाल तथा एशोसिएसन अध्यक्ष हरीप्रसाद अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तीमा कोभिडको जोखिम उच्च अवस्थामा बढ्न सक्ने भन्दै दैनिक रुपमा हुने सरकारी कार्यालयहरुको भीडभाडलाई व्यवस्थापन गर्दै स्वास्थ्य मापदण्डको अनिवार्य पालना गराएर मात्र सेवा प्रवाहको तत्काल व्यावस्था मिलाउन आग्रह गरिएको छ ।
विज्ञप्तीमा सरकारसँग हरेक सीमा नाकामा हुने आवत–जावतलाई कडाईका साथ लागु गर्दै निगरानी बढाउन र नागरिकको जीवन रक्षाका लागि सीमा क्षेत्रमा अहोरात्र खटिने स्वास्थ्य तथा सुरक्षाकर्मीलाई उचित स्वास्थ्य सामग्री उपलब्ध गराई कोभिड नियन्त्रण गर्न आग्रह गरिएको छ ।
त्यसैगरी आपतकालिन रुपमा आवश्यक पर्ने तरल पदार्थ सहितको अक्सिजन तथा अन्य आवश्यकीय स्वास्थ्य सामग्रीहरु समेतको प्रवन्ध र व्यावस्थापन गर्न माग गर्छौँ विज्ञप्तीमा भनिएको छ ।
विज्ञप्तीमा आम नागरिकले आफनो स्वास्थ्को ख्याल राख्दै स्वास्थ्य सावधानी अपनाएर हिड्डुल गर्न, भिडभाड नगर्न र माक्स अनिवार्य लागाउन समेत सर्वसाधारणमा अनुरोध गरिएको उल्लेख छ ।