दमक,१३ बैशाख । दमकमा आज एकैदिन १५ जना कोरोना सपक्रमित भेटिएका छन् । दोश्रो कोरोना लहरको अति जोखिम रहेको दमकमा हालसम्मकै धेरै जनामा संक्रमण देखिएको हो।
आइतबार जिल्लाका १८ जना संक्रमित भएकोमा त्यसको भोलिपल्ट सोमबार संक्रमितको सँख्या त्यसको दोब्बर बढी ३८ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसअघि कोरोनाको पहिलो लहरमा समेत दमक हटस्पट बनेको थियो। स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईका अनुसार दमकमा ७ महिला र ८ पुरुष गरी १५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै बिर्तामोडमा दुई महिला , दुई पुरुष , मेचीनगरमा एक महिला , तीन पुरुष , भद्रपुरमा दुई पुरुष , कनकाईमा तीन पुरुष , अर्जुनधारामा एक महिला , दुई पुरुष , गौरीगञ्जमा तीन महिला , तीन पुरुष र शिवसताक्षीमा एक पुरुषमा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको सँख्या ४ हजार ८१९ पुगेको छ । त्यसमध्ये ४ हजार ५१९ डिस्चार्ज भएका छन् । अहिले १६९ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएको छ । कोरोनाबाट १३१ जनाको मृत्यु भएको छ ।
दमकमा कोरोना रोकथामबारे छलफल हुँदै
पछिल्लो समय कोरोनाको दोश्रो लहरबाट जनजिवन प्रभावित हुन थालेपछि सरकारले गठन गरेको नगरस्तरीय कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठक बोलाइएको छ । समन्वय समितिका सचिव कुबेर भट्टराईले नगर प्रमुखको अध्यक्षतामा रहेको समितिको सर्वपक्षीय बैठक भोलि मंगलबार दिउँसो ३ बजेका लागि बोलाइएको जानकारी दिए ।