विवादका क्रममा वृद्धद्धारा छिमेकीको हत्या

झापा,७ बैशाख । छिमेकीबिचको सामान्य विवादले उग्र रूप लिँदा उदयपुरको चौदण्डीगढी नगरपालिकामा एक जनाको ज्यान गएको छ । आइतबार साँझ वडा नं. ७ सीता पाइला टोलमा ७३ वर्षीय वृद्धले धारिलो हतियार प्रहार गर्दा ६४ वर्षीय छिमेकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटना विवरण अनुसार, आइतबार साँझ करिब सवा ८ बजे स्थानीय ७३ वर्षीय रामप्रसाद राई र ६४ वर्षीय माहाशेर राईबिच छरछिमेक सम्बन्धी विषयमा विवाद भएको थियो। विवादका क्रममा आवेगमा आएर रामप्रसादले माहाशेरमाथि धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट माहाशेरको छातीको दायाँ पट्टिको माथिल्लो भागमा गहिरो चोट लागेको थियो।

घाइते भएका माहाशेरलाई तत्काल उपचारका लागि नगर अस्पताल बेल्टार लगिएको थियो। तर, अस्पताल पुरयाँउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। प्रहरीका अनुसार अस्पताल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भइसकेको थियो।
हत्यामा संलग्न राम प्रसाद राईलाई इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ । प्रहरी निरीक्षक प्रभात लक्सम लिम्बूको कमाण्डमा खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ ।

 

Leave a Reply

Your email address will not be published.