इलाम ,३ बैशाख । इलाममा स्थापित हाङयुगजुनिता फाउन्डेसनले यस वर्षको ‘हाङयुगजुनिता राष्ट्रिय पुरस्कार’ गजलकार, कवि तथा कथाकार सुन्दर कुरुप (सुन्दर कुमार लावती) लाई प्रदान गरिने भएको छ ।
फाउन्डेसनले पहिलो संस्करणको रुपमा यो पुरस्कार यहि वैशाख १८ र १९ गत इलाममा आयोजना हुन लागेको ‘इलाम साहित्य महोत्सव’ उद्घाटन सत्रमा वितरण गरिने फाउण्डेसनका अध्यक्ष हाङयुग अज्ञातले जानकारी दिए ।
पुरस्कारको राशी ५० हजार रुपैयाँसँगै कदरपत्र छ । विज्ञप्तिमा उल्लेख गरिए अनुसार, फाउन्डेसनले प्रत्येक वर्ष साहित्य, कला, संगीत, पत्रकारिता, स्वास्थ्य, शिक्षा तथा खेलकुदलगायत विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउने व्यक्तित्वलाई नगद ५० हजार रुपैयासहित सम्मान गर्ने निर्णय गरेको छ ।
सोहिअनुसार यस वर्षको पुरस्कारका लागि इलाम नगरपालिकाको साहित्य कला संगीत प्रतिष्ठानको सिफारिस अनुसार गजल, कविता र कथा मार्फत नेपाली साहित्य क्षेत्रमा योगदान पु¥याउँदै आएका स्रष्टा कुरुपलाई चयन गरिएको फाउन्डेसनले जनाएको हो ।
इलाम चुलाचुलीस्थित हात्तीलेदामा बसोबास गर्दै आएका कुरुप लेखनमार्फत राष्ट्रिय स्तरमा पहिचान स्थापित गर्न सफल छन्।