कमल,३ बैशाख । झापाको कमल गाउँपालिकामा कमल मिनी म्याराथन आयोजना गरिएको छ । नयाँ वर्ष २०८३ का अवसरमा आयोजना गरिएको महिला, पुरुष म्याराथन सम्पन्न भएको हो ।
प्रतियोगितामा म्याराथुन अफ द डे का रुपमा फरक क्षमता भएका शिवसतासी नगरपालिकाका अनिष ब्लोन (तामाङ्ग) भए । कमल युथ फाउण्डेसनको आयोजना “हामी युवाको प्रतिवद्धता,लागु औषध दुव्र्यसन मुक्त कमल गाउँपालिका” भन्ने नाराका साथ १५ वर्ष मुनिका ५ किलोमिटर दुरी मिनी म्याराथनमा पुरुषतर्फ अबिरल गुरागाई पहिलो ,विवेक दनुवार दोश्रो र डम्बर पौडेल तेश्रो भए भने महिलातर्फ संगिता तामाङ्ग पहिलो, रुसना राई दोश्रो र बसन्ती लिम्बू तेश्रो भएकी थिईन् ।
त्यस्तै भेट्रान महिला र खुल्ला तर्फ १२ किलोमिटरको दुरीमा क्रमशः भेट्रान तर्फ प्रथम मंगल तामाङ्ग, दोश्रो हेमन्त लावती र तृतिय भिम प्रसाद निरौलाले उपाधि जिते भने महिला तर्फ प्रथम दिपा बस्नेत मन्दिरा महतारा दोश्रो र मदिका देवानले तेश्रो स्थान प्राप्त गर्न सफल भएकी कार्यक्रम संयोजक आशिष लेछर्वाेले बताए ।
उनका अनुसार १५ किलोमिटर खुल्ला म्याराथनतर्फ प्रथम मिसन आङ्गदेम्बे, प्रिति राई दोश्रो र समिर आङ्गदेम्बेले तेश्रो भए ।
प्रतियोगितामा प्रथम,दोश्रो र तृतिय हुनेले क्रमशः २० हजार , १५ हजार र १० हजार नगद सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । त्यस्तै, म्याराथनमा टपटेन हुनेले मेडल र प्रमाण पत्र प्राप्त गर्नुका साथै सहभागी सबैले प्रमाण पत्र प्राप्त गरेका सह संयोजक चक्र मावोले बताए ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल पाथीभरा जवान तालिम शिक्षालयका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक रमेशकुमार पाण्डे लगायतले पुरस्कार प्रदान गरेका थिए ।
म्याराथनमा झापा ,मोरङ्ग लगायत कोशी प्रदेशका विभिन्न जिल्लाबाट करिव ५ सय जनाले भाग लिएका थिए ।