धिमाल समुदायको ‘जात्री पर्व’ आजबाट सुरु

उर्लाबारी ,२ बैशाख । धिमाल समुदायको महत्वपूर्ण सांस्कृतिक पर्व ‘जात्री पर्व’ आजबाट सुरु भएको छ।मोरङको लेटाङ नगरपालिका–१ राजारानी स्थित धिमाल समुदायले पूजाआजा गरिआएको ग्रामथानमा परम्परागत विधिअनुसार पूजा–आराधना गर्दै यस वर्षको पर्वको शुभारम्भ गरिएको हो।

विशेषगरी धिमाल समुदाय द्वारा मनाइने यो पर्व प्रकृतिपूजा, सामुदायिक एकता र पुर्खाप्रति श्रद्धा प्रकट गर्ने अवसरका रूपमा लिइन्छ। राजारानी क्षेत्रमा स्थानीय अग्रज तथा पूजारीहरूको उपस्थितिमा धार्मिक विधिअनुसार पूजा सम्पन्न गरिएको थियो।
पर्वको अवसरमा समुदायका सदस्यहरू परम्परागत भेषभूषामा सजिएर भेला भएका थिए भने सांस्कृतिक झाँकी, गीत–नृत्य र विभिन्न परम्परागत गतिविधिहरू समेत आयोजना गरिएको थियोे ।

धिमाल समुदायले हरेक वर्ष मनाउँदै आएको जात्री पर्वले उनीहरूको मौलिक पहिचान, संस्कृति र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ। यस पर्वमा प्रकृति, वनजंगल, पानी र पुर्खाहरूलाई सम्झेर पूजा गर्ने चलन रहँदै आएको छ।
धिमाल अगुवाका अनुसार आगामी २ महिनासम्म विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमसहित धिमाल बसोबास क्षेत्रमा सामूहिक रुपमा जात्री पर्व उत्साहपूर्वक मनाउने गरिआएको छ ।

Leave a Reply

Your email address will not be published.