पारदर्शीता र इमान्दारिता हाम्रो प्रतिवद्धता

आजको दुनिया इन्टरनेटविना बाँच्न नसक्ने भइसकेको छ । हाम्रा दैनिकी र क्रियाकलापहरु अनलाइनमार्फत विकसित र छरिता हुन थालेका छन् । इन्टरनेट कम्प्युटर, मोबाइल लगायतका विद्युतीय उपकरणका माध्यमबाट हरेक कामलाई सरलीकरण गर्ने गरिएको छ । २१ औं सताब्दीको प्रारम्भबाट इन्टरनेटको वृहत प्रयोग गरिँदै समाजका क्रियाकलाप सरल बनाउने प्रयास अनलाइन र इन्टरनेटबाट नै भइरहेको छ । समाचार सामग्री उत्पादन गरी इन्टरनेटमार्फत वितरण गर्नुलाई अनलाईन पत्रकारिता भनिन्छ । आजको हाम्रो अभ्यास पनि यही हो ।
पत्रकारिताको यो समयसम्म आइरहँदा सञ्चारमा एकलौटी हैकम कायम गर्ने प्रतिष्पर्धामा रहेका केही व्यापारिक घराना र च्याउ जसरी उम्रिएका ‘अनलाइन’का भीडमा भएको हाम्रो शुरुआत आफैमा चुनौतीपूर्ण छ । कतिपय पित पत्रकारिता, प्रायोजित पत्रकारिता र जस्तोसुकै मुनाफालाई केन्द्रीय लक्ष्य बनाई गरिने पत्रकारिताको सघन उपस्थितिबारे पनि हामी सचेत छौ र हुनैपर्छ । पत्रकारिताका त्यस्ता प्रवृत्तिले निम्त्याउने यो पेशाको अवमूल्यन, त्यसका कारण गुम्ने विश्वसनीयता अनि सञ्चारको विश्वसनीयता गुम्दा राष्ट्रिय र सामाजिक जीवनमा उत्पन्न हुने खतराबारे सोच्नु, सचेत हुनु र त्यसको विरोध गर्नु यो पेशामा रहेका सबैको दायित्व हो । यो दायित्वबोध हामीले पनि गर्नैपर्छ । समाचार र लेखनमा पारदर्शीता र इमान्दारिता नै हाम्रो मूल उदेश्य रहनेछ ।
अनलाईन, इन्टरनेट र विद्युतीय उपकरणको विकासले बृहत सञ्जालयुक्त समाजको निर्माण सम्भव भएको हो । यस्तो समाजमा मानिसको भौतिक उपस्थिति नभएपनि सामाजिक सम्बन्ध र क्रियाकलाप वृहत हुन थालेको छ । अनलाईन र इन्टरनेटले कामलाई सजिलो र छरितो पनि बनाएको छ ।
मानिसका मानवीय क्रियाकलाप र प्राथमिक र माध्यमिक शिक्षासमेत विस्तारै भर्चुअल हुन थालेका छन् । मानिस अभौतिक क्रियाकलापमा सक्रिय हुन थालेका छन् । सोसल मिडियाले मानिसलाई भौतिक उपस्थितिविनापनि क्रियाकलापका लागि अभ्यस्त बनाएउँदै लगेको छ । शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापार–व्यवसायको प्रबद्र्धन तथा कारोबार पनि भौतिकभन्दा इन्टरनेट र अनलाइन नै प्रभावकारी हुन थालेको छ । सोसल मिडिया प्लेटफर्म सूचना प्रवाह गर्ने गतिलो माध्यम पनि बनेको छ ।
भौतिक उपस्थितिमा दिइने बधाई, शुभकामना, श्रद्धाञ्जली, समवेदना जस्ता कार्य सोसल मिडियाबाट हुन थालेको छ । यति मात्र होइन, विवाह, व्रतबन्ध, दशैँ, तिहार जस्ता पर्व मनाउने लगायतका धार्मिक कार्य पनि अनलाइनबाटै हुन थालेका छन् । यो नयाँ प्रयोग र अनलाइन अभ्यासको सफलता पनि हो । यो अभ्यासको प्रतिष्पर्धाकैविच हामी नयाँपनकासाथ यो अनलाइनमार्फत तपाईमाझ आउन कोषिश गरिरहेका छौ ।
हामीलाई थाहा छ, सञ्चार वातावरण परिवर्तनशील छ । त्यसैले अहिलेका ‘पुराना’ मानिएका मिडिया सुरुमा नयाँ नै थिए । विद्यमान सञ्चार प्रविधिका विविधता विस्तार भएर नै नयाँ मिडियाको रुप धारण गरेको हो । आज निर्माण र विकसित हुँदै गएको अनलाइन सोसाइटी भविष्यमा अझ उन्नत र विकसित हुने सम्भावना छ । यो सम्भावनालाई मध्यनजर गर्दै झापाको दमकलाई प्रधान कार्यालय बनाएर शुरु हुन गएको यो अनलाइनको उज्वल भविश्यको अपेक्षा सहित तपाई पाठक, शुभचिन्तक र विज्ञापनदातामा हाम्रो आगमनसँगै नयाँवर्षको समेत शुभकामना ब्यक्त गर्दछौं ।

Leave a Reply

Your email address will not be published.