जयपुर सहकारी संस्थाका उपाध्यक्ष श्रेष्ठ र व्यवस्थापक भण्डारी पक्राउ

झापा ,२४ फागुन । सदस्यहरुबाट संकलित बचत फिर्ता नगर्ने झापाका सहकारी संस्थाका संचालक तथा कर्मचारीहरु पक्राउ पर्नेक्रम सुरु भएको छ ।बुद्धशान्तिस्थित जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष र व्यवस्थापक पक्राउ गरेर प्रहरीले यस्तो सक्रियता देखाएको हो ।
उक्त सहकारीका संचालक र व्यवस्थापकको मिलेमतोमा १ करोड ९० लाख रुपैयाँ हिनामिना भएको सदस्यहरुको उजुरीका आधारमा उपाध्यक्ष नारायण श्रेष्ठ र व्यवस्थापक केशवकुमार भण्डारी हिजो पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवामा जयपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक तथा व्यवस्थापक विरुद्ध उजुरी परेको थियो । सहकारी रजिष्ट्रार कार्यालयको पत्रअनुसार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी मिलन केसीले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुसहित पाँच जनाविरुद्ध उजुरी परेको बताइएको छ । अन्य व्यक्ति फरार रहेकाले उनीहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।शेयर सदस्य तथा बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा २०७९ भदौदेखि जयपुर सहकारी बन्द भएको छ । २०५९ सालमा स्थापित सो संस्थामा ४९ लाख ९८ हजार १०० रुपैयाँ शेयर पुँजी र ३ करोड ८ लाख ६८ हजार १४४ रुपैयाँ निक्षेप बचत रहेको तथ्याङ्क छ ।झापाका अन्य सहकारी विरुद्ध पनि उजुरी परेको र आफूहरुले सहकारीहरुले गरेको ठगीलाई गंभीरताका साथ लिएर कार्वाही शुरु गरेको एसपी केसीले बताए ।
उनले भद्रपुरको अर्को सहकारी विरुद्ध उजुरी परेको र त्यसका संचालकलाई कार्वाही शुरु गर्न लागिएको पनि जानकारी दिए । बचतकर्ताहरुको करोडौं रकम हिनामिना गर्ने पहिलो पाइला बहुउद्देश्यीय सहकारी संस्था भद्रपुर , समाजसेवी बहुउद्देश्यीय सहकारी संस्था बिर्तामोड , पूर्वार्ध कृषि सहकारी संस्था अर्जुनधारा , संयुक्त कलाकर्मी बचत तथा ऋण सहकारी संस्था दमकमाथि उजुरी परेको झापा जिल्ला सहकारी संघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.