फागुन १ देखि कमल नगर अस्पताल सञ्चालनको तयारी

दमक,२४ माघ । झापाको कमल गाउँपालिकाले यहि फागुन १ देखि अस्पताल सञ्चालनको तयारी गरेको छ ।तोपगाछी स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै पालिकाले यही फागुन १ गतेदेखि कमल नगर अस्पताल सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले जनाएको छ । सरकारको हरेक स्थानीय तहमा कम्तीमा एउटा अस्पताल सञ्चालन गर्ने नीति कार्यान्वयनमा गाउँपालिकाले सक्रियता देखाउँदै अस्पताल सञ्चालनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष हुकुमसिंह राईले जानकारी दिए ।
उनका अनुसार स्वास्थ्य बीमाको सेवासहित तत्कालका लागि अस्पतालमा आउने बिरामीको सम्भव भएसम्म सोही अस्पतालमा उपचार गर्ने र चिकित्सकहरुको सिफारिस अनुसार आवश्यक अन्य ठुला अस्पतालमा रेफर गर्ने गरी सेवा सुचारु गर्न लागिएको छ ।
अस्पतालको भौतिक संरचना तथा अन्य आवश्यक सामग्रीहरुको बन्दोबस्ती मिलाउने तथा आन्तरिक प्रकृयाहरु पूरा गर्न केही समय लागेकाले १ फागुनदेखि पूर्ण रुपमा सो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । अस्पतालमा तत्काल एमबीबीएस र मेडिकल अफिसरसहितको सेवा उपलब्ध हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । अस्पतालको शुरुवातमा १३ जनाको जनशक्ति रहने र बिहान ८ बजेदेखि ६ बजे सम्म मात्रै सेवा प्रदान गरिने योजना छ । उनले भने, –‘बिरामीको चाप र आवश्यकतालाई मध्यनजर गर्दै सेवा समय बढाउदै लैजाने लक्ष्य राखेका छौ।’
शाखा प्रमुख अर्यालका अनुसार तत्काल स्वास्थ्य बीमाको रेफर लिएर ठुला अस्पतालमा जानका लागि सर्वसाधारणलाई सहज हुनेछ । जनशक्ति र अन्य पूर्वाधार तथा उपकरणको व्यवस्था गरेर अस्पतालको सेवा विस्तार गर्दै लगिने छ । अस्पतालमा तत्काल नियमित स्वास्थ्य परीक्षण तथा उपचार, एक्स रे, ल्याब सेवा, इसिजी, औषधी लगायतका सेवा प्रदान गरिनेछ । साथै, सरकारले उपलव्ध गराउदै आएको सेवाहरु समेत उपलव्ध हुने उनले जनाएका छन् ।
अस्पताल सञ्चालनमा आएपछि त्यस क्षेत्रका बासिन्दालाई आकस्मिक उपचार तथा स्वास्थ्य बिमाको सेवा लिन दमक लगायतसम्म पुगेर सेवा लिनु पर्ने समस्या हट्ने उनले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.