दमक,२० माघ । दमकको फर्निचर लाइनमा निसन्तान दम्पत्तीका लागि विशेषज्ञ स्वास्थ्य क्लिनिक सञ्चालनमा आएको छ । दमकको लाइफलाइन अस्पतालकी स्त्री रोग विशेषज्ञ डाक्टर सीता राईले ‘कोपिला फर्टिलिटी एण्ड वमन क्लिनिक ’सञ्चालनमा ल्याएकी हुन् । लाइफलाइनमा विगत सातवर्षदेखि स्त्री रोग विशेषज्ञकी रुपमा कार्यरत छिन् ।
आइतवार क्लिनिकमा पत्रकार सम्मेलन गरि डा.राईले यस क्षेत्रका निसन्तान समस्या भएका दम्पत्तीलाई प्रजनन सम्बन्धी स्वास्थ्य सेवा पुरयाँउन आफूले दमकमै यस किसिमको क्लिनिक सञ्चालनमा ल्याएको बताईन् । क्लिनिक महिनादिन अघिदेखि सञ्चालित छ ।दमकमै पहिलो पटक यस्तो क्लिनिक सञ्चालनमा ल्याइएको सञ्चालिका डा. राईको दावी छ ।
डा. राई स्त्री रोगसंगै निसन्तान समस्या भएकाहरुलाई लक्षित गरेर क्लिनिक सञ्चालनमा ल्याईएको अर्का डा. सन्तोष खत्रीले बताए । डा. दम्पत्तीले आफनै ठाउँमा स्त्री रोगसहित निसन्तान समस्या भएकाहरुलाई आवश्यक परामर्श तथा उपचार सेवा पुरयाँउन क्लिनिक सञ्चालनमा ल्याईएको उल्लेख गरेका छन् ।क्लिनिकमा डा. राईले विहान र साँझ ओपीडी सेवा उपलव्ध गराउदै आएकी छन् । डा. राईका अनुसार कुल जनसंख्याको करिव १० प्रतिशत मानिसमा निसन्तानको समस्या हुने गरेको छ ।
त्यस्ता समस्या भोगेकाहरु स्वेदश तथा भारतका विभिन्न शहरका अस्पतालसम्म उपचार सेवा लिदैआएको भन्दै डा. राईले त्यस्ता समस्या आउन नदिन आवश्यक स्वास्थ्य परामर्श तथा विशेषज्ञ सेवा उपलव्ध गराउन प्रतिवद्ध भएको बताईन् । डा. राईले भनिन्– ‘धेरै नेपालीहरु यो समस्याबाट गुज्रिरहनु भएको छ । उहाँहरुको समय र पैसा दुवै खेर गइरहेको छ । अब हामी सन्तान प्राप्तीको लागि दम्पत्तीहरुलाई उपयुक्त परामर्श र उपचार सेवा पनि दिन्छौं ।’
झापा, इलाम, पाँचथर र मोरङको पूर्वी उत्तर क्षेत्रका बासिन्दालाई समेत लक्षित गरेर दमकमा कोपिला सञ्चालनमा ल्याइएको डा. राईको भनाई छ ।क्लिनिकमा विशेषज्ञ सेवासहित ल्याव,भिडियो एक्सरे,फार्मेसी लगायतका सेवाहरु उपलव्ध छन् ।