देशको जिम्मेवारी कांग्रेसलाई : सुव्वा ,केन्द्रीय सदस्य

दमक,१२ माघ । नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य शुरेस सुब्बाले परिवर्तित नेपाली कांग्रेसले अब देशको नेतृत्व गर्ने जिम्मेवारी लिने बताएका छन् ।
नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ५ ‘ख’ प्रदेश समितिले सोमबार दमकमा आयोजना गरेको स्वागत तथा क्षेत्रीय बैठकलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै नेता सुब्बाले

परिवर्तनको चाहनाअनुसार कांग्रेस आफैं परिवर्तन भइसकेको दाबी गरे । अब देश परिवर्तन गर्ने दायित्व पनि कांग्रेसकै काँधमा आएको उनले उल्लेख गरे ।
गत भदौ २३ भन्दा अघिको अवस्थाबाट मुलुक अघि बढ्न नसक्ने स्पष्ट पार्दै उनले परिवर्तनको मागअनुसार कांग्रेस रूपान्तरण भइसकेको उल्लेख गरे । विशेष महाधिवेशनबाट नयाँ कांग्रेस आएको उल्लेख गर्दै समयअनुसार परिवर्तन हुन नसक्नेहरू आफैं इतिहासबाट हराउँदै जाने उनको भनाई थियो ।
नेता सुब्बाले पार्टीभित्र देखिएका आन्तरिक विवाद समाधानतर्फ उन्मुख भइसकेको भन्दै अब कांग्रेस एकढिक्का भएर निर्वाचनमा होमिएको त्रताए । विगतको नेतृत्वका केही कमजोरीका कारण समस्या देखिए पनि अहिले कांग्रेस नयाँ रूप र उच्च मनोबलका साथ जनतामाझ मत माग्न जाने अवस्थामा पुगेको भन्दै कार्यकर्तालाई सक्रिय हुन उनले निर्देशन दिए ।

विशेष महाधिवेशनबाट आदिवासी जनजाति कलष्टरबाट केन्द्रीय सदस्यमा निर्वाचित सुब्बालाई यस क्षेत्रका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।
कार्यक्रममा मन्तव्य राख्दै नेपाली कांग्रेस क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले हल्लाको पछि नलागी कांग्रेस उम्मेदवारलाई जिताउन सबै एकजुट भएर लाग्न आग्रह गरे । उनले गगन थापा सभापतिमा निर्वाचित भएपछि गाउँ–सहरमा कांग्रेसको लहर देखिएको दाबी गर्दै सुधारिएको कांग्रेसले देशलाई समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरे ।
प्रदेश क्षेत्र ‘ख’ सभापति रवि केसी न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा झापा क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार मन्धरा चिमरिया पौडेल, संविधानसभा सदस्य विश्वदिप लिङदेन, कांग्रेस दमक नगर कार्यबाहक सभापति प्रेम भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
नवनिर्वाचित केन्द्रिय सदस्यलाई बधाई सहित सञ्चालन गरिएको बैठकले कांग्रेस उम्मेद्वारलाई बिजयी गराउन क्षेत्र मातहतका पार्टीका सबै भातृ संघसंगठनहरुलाई क्रियासिल बनाउने निर्णय गरेको प्रदेश क्षेत्र उप सभापति सुरेन्द्र कटुवालले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published.