दमक,१० माघ । दमक नगरपालिकाले मालपोत कार्यालय दमकमा भईरहेको ढिलासुस्ती त्तत्काल सुधार गरि सेवाग्रही प्रति जवाफदेही बन्न आग्रह गरेको छ । आज मालपोत कार्यालयमा पुगेर स्थानीय सरकारका प्रमुख र उपप्रमुखसहितको टोलीले सेवाग्रहीको सुविधामा ध्यान दिदै छिटोछरितो सेवा पुरयाँउन ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
दमक नगर प्रमुख राम थापा र उपप्रमुख रेगिना भटटराई प्रसाई,दमक- ४ का वडाअध्यक्ष पूण्यप्रसाद दाहाल,सेवाग्रही,सञ्चारकर्मीसहितको टोलीले कार्यालय प्रमुख हिमालय बराललाई ध्यानाकर्षण पत्र बुझाउदै कार्यालयमा देखिएको बेथिति त्तत्काल समाधान गर्न अनुरोध गरेको हो । पछिल्लो समय दमक नगरपालिकाले जग्गा वर्गीकरण गरेपछि जग्गा किनबेचमा क्रममा देखिएको प्रकृयागत कामकाजमा सेवाग्रहीले चरम असुविधा भोग्दैआएको जनगुनासो आएपछि नगरपालिकाले त्यसमा सुधार गर्नका लागि कार्यालयमा आएर लिखीत रुपमा ध्यानाकर्षण गर्न बाँध्य हुनुपरेको नगर प्रमुख थापाले बताए ।
राष्ट्रसेवक कर्मचारीले कामका नाममा अनावश्यक दुख दिने,आर्थिक लेनदेन विना काम नहुने जस्ता सेवाग्रहीहरुका यस्ता गंभीर गुनासोलाई सुधार गर्न ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । नगर प्रमुख थापाले सरकारले ल्याएको भू उपयोग नीति भित्र रहेर नगरपालिकाले पारित गरेको भूउपयोग सम्बन्धि कार्यविधि अनुसार वडाबाट सिफारिस गरिएका जग्गाको कित्ताकाट, रजिष्ट्रेशन पास लगायतका काममा कार्यालयको तर्फबाट भइरहेको ढिलासुस्ती र झन्झट अन्त्य हुन नसकेको भन्दै कडा आक्रोश पोखे ।
उनले त्यसक्रममा मालपोत कार्यालयलाई यहाँको सेवा लिन आउने सेवाग्राहीसंग कार्यालय का कर्मचारीहरुले घुमाउरो बाटोबाट आर्थिक लेनदेन समेत गरिरहेको जनगुनासो समेत राखे । नगर प्रमुख थापाले भने– ‘स्थानीय सरकार , नगरपालिकाले जग्गाको वर्गीकरण गरेर सोको जानकारी कार्यालय र विभागमा पठाइसकेपछि पनि किन सेवा दिने कुरामा कञ्जुस्याइँ भइरहेको छ ? ’उनले जनताप्रति उत्तरदायीपूर्ण व्यवहार गर्न मालपोत कार्यालय र मातहतका कर्मचारीहरुलाई आवश्यक निर्देशन दिन पनि भनेका छन् ।
सो क्रममा मालपोत प्रमुख बरालले नगरपालिकाबाट प्राप्त भएको ध्यानाकर्षण कार्यान्वयन गराउन आफू प्रतिवद्ध भएको औल्याए । उनले मालपोत कार्यालय परम्परावादी संरचनामा सञ्चालन हुदै आएको र यसलाई परिवर्तन गर्न आफू लागिपरेको सुनाए । सेवाग्राही तथा कतिपय लेखापढी व्यवसायीहरुले समेत मालपोत प्रमुख बरालले अनावश्यक झण्झट र दुख दिएर हैरान बनाउने गरेको गुनासो राखेका छन् । उनीहरुले घुमाउरो शैलीमा कार्यालयमा आर्थिक चलखेलका भरमा मात्रै काम हुने गरेको बताएका छन् ।