दमक,१० माघ । झापाको कमल गाउँपालिका -५ स्थित पाडाजुंगी र मंगलवारेमा भुस्याहा कुकुरको आंतक मच्चिएको छ ।भुस्याहा कुकुरको विगविगीले त्यस क्षेत्रमा हिड्डुल गर्ने बटुवा तथा सर्वसाधारणहरु प्रभावित भएका छन् । पाडाजुंगीस्थित दिल विजुली भण्डारका सञ्चालक प्रेम कार्कीले केहिदिन यता भुस्याहा कुकरको आंतकले आफूहरु त्रसित हुनुपरेको बताए । घरमा पालेका र कतिपय छाडा कुकुरले गर्दा बाटो हिड्डुल गर्न नै समस्या हुदैआएको उनले गुनासो सुनाए ।
उनका अनुसार भुस्याहा कुकुरले पाडाजुंगी उत्तर आइतवारेहुदै गुहेश्वरी जाने बाटोमा हिड्डुल गर्ने सर्वसाधारणलाई टोक्ने गरेको पाईएको छ । भुस्याहा कुकुरको उपद्रो नियन्त्रण गर्न स्थानीयले वडा कार्यालयमा समेत पत्र उजुरी गरेको वडा सदस्य ओम प्रधानले बताए । उनले भुस्याहा कुकुर नियन्त्रणका लागि वडाको एक्लो प्रयासले मात्र संभव नहुने भएकाले सवैको सहयोग आवश्यक भएको बताए ।