झापा ,९ माघ । उपप्रधान तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनले भ्रष्टाचार नगर्ने र गर्न पनि नदिने वाचा पूरा गर्न आफू सरकारमा सामेल भएको बताएका छन् ।‘भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो’ भन्ने आफ्नो नारालाई व्यवहार उतार्ने मन्त्री लिङ्देनले प्रतिवद्धता व्यक्त गरे ।
सोमबार झापाको अर्जुनधारा -१ साधुटारमा रहेको शंकराचार्यपीठको वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका लिङ्देनले भ्रष्टाचार नगर्ने आफ्नो वाचा पूरा गर्न अग्निपरीक्षामा होमिएको बताए ।
‘मैले भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह हो भन्दा कतिपयले प्रशंसा गरे । कतिले ‘नपाइन्जेल त हो नि’ पनि भने । तर मैले पाएपछि म भ्रष्टाचार गर्दिनँ भनेर देखाउन अग्निपरीक्षामा होमिएको हुँ’, उनले भने ।
सरकारमा जाने मान्छेलाई राम्रो नमानेको सन्दर्भमा आफूले सरकारमा गएर काम गरेर देखाउने अठोट गरेको उनले बताए । हजारौँले सरकारमा अहिले जानु हुँदैन भनेको तर मैले गरेर देखाउने मौका यो पनि हो भनेर सरकारमा गएको उनको भनाइ थियो । उपप्रधानमन्त्री लिङ्देनले आफूले उठाएको हिन्दुत्वको मुद्दा झन बलियो बनाउने बताए । उनले भने, ‘म जति गर्नसक्छु, गर्छु । नराम्रो गर्दै गर्दिनँ। नराम्रो ग¥्यो भन्ने कुरा तपाईंहरूले सुन्नु पर्दैन् ।’
आफू जुन–जुन कार्यक्रममा सहभागी भए पनि हिन्दुत्वसँग सम्बन्धित कार्यक्रममा सहभागी हुन पाउँदा ज्यादै खुसी मिल्ने लिङ्देनको भनाइ छ ।
उनले भने, ‘मन्त्रालयको जिम्मा पाएपछि पहिलो पटक आफ्नो जिल्ला झापा आएँ। धेरै कार्यक्रममा सहभागी भएँ। आज म यहाँ आउँदा ज्यादै आनन्दित छु ।’