
मिक्लाजुङ,९ माघ । कुरुम्बेली समाज सेवा संघ दमक र पाँचथर समाज सेवा युकेद्वारा मिक्लाजुङ गाउँपालिका वडा न. ५ भित्रका २ सय ९५ परिवारलाई राहत वितरण गरेको छ ।
मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमको प्रमुख आतिथ्यतामा शनिवार स्थानीय कुरुम्बा माविको प्राङगणमा एक कार्यक्रम गरि कातिक २ गते परेको बेमौसमी वर्षाका कारण बाढी पहिरोबाट मृत्यू भएका ६ घरपरिवारलाई वडा कार्यालयको समन्वयमा जनही १० हजारको दरले राहत हस्तान्तरण गरिएको थियो भने
सोहि समयमा बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजङ ५ का २ सय ३९ घरपरिवारलाई समेत राहत स्वरुप आर्थिक सहयोग गरिएको कुरुम्बेली समाज सेवा संघका सदस्य मिलन लावतीले बताए ।
यस्तै उक्त बाढी पहिरोबाट प्रभावित भएका मिक्लाजुङ गाउँपालिका वडा न.५ भित्रका कम प्रभावित परिवार, असक्त, असहाय, एकल महिलासमेतलाई गरि ४० घरपरिवारलाई जाडोका लागि व्लाङकेट हस्तान्तरण गरिएको थियो ।
कुरुम्बेली समाज सेवा संघका सह–सचिव तथा आर्थिक संयोजक गगन लावतीका अनुसार उक्त राहत हस्तान्तरणमा वडा न ५ का अध्यक्ष अविशन लावती,कुरुम्बेली समाज सेवा संघका अध्यक्ष ऐमानसिंह लावती, पापोहाङ लावती सयङका केन्द्रीय अध्यक्ष जगत लावती, सयङका सल्लाहकार खड्क सुन्दर लावती, पाँचथर समाज सेवा युकेका प्रतिनिधि देउमान लावती, संघका सह–सचिव गगन लावती, कोषाध्यक्ष कमला योङहाङ लावती, सदस्यहरु मिलन लावती, बिरु लावती, कल्पना लावती, भिमसेन लावती, दिनेश लावती र रविन्द्र लावती लगायतको उपस्थिति रहेको थियो ।
कुरुम्बेली समाज सेवा संघ, पाँचथर समाज सेवा युके र पापोहाङ लाओती सयङको समेत पहलमा पाँचथर समाज सेवा युकेबाट देउमान लावती र यद्धुचन्द्र लावती, बेल्जियमबाट दौलत साम्बा, साउदी अरवबाट शुरेश लावती र काठमाण्डौबाट टेक लावतीको संयोजनमा राहत वितरणको लागि आर्थिक सहयोग संकलन गरिएको आर्थिक संयोजक गगन लावतीले बताए ।
बाढी पहिरोमा परेर मिक्लाजुङको वडा ५ मा मात्रै २२ जनाले ज्यान गुमाएका थिए भने २ जना बेपत्ता भएका थिए ।
२०७४ सालमा स्थापना भएको कुरुम्बेली समाज सेवा संघले आफना समुदायदेखि अन्य सामाजिक क्षेत्रमा सेवा पुरयाँउदै आएको सहसचिव गगन लाओतीले बताए ।