कांग्रेस उम्मेदवार थापा राष्ट्रिय सभा सदस्यमा निर्विरोध

धनकुटा,२४ पुस । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका छन् । अन्य दलबाट उम्मेदवार नआएपछि थापा निर्विरोध निर्वाचित भएका हुन् । उनी निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भने पुस २७ गते हुने छ ।
यसैबिच, कोशी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि कांग्रेस–एमाले गठबन्धन तथा नेकपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्। कांग्रेस–एमाले गठबन्धनबाट दलिततर्फ नेकपा (एमाले) का सोम पोर्तेल र महिलातर्फ रोशनी मेचेले उम्मेदवारी दर्ता गराएकी छन् ।
मेचेको प्रस्तावक शोभा चेम्जोङ र समर्थक सृजना राई रहेकी छन् भने, पोर्तेलका प्रस्तावक एकराज कार्की र समर्थक छवि चुडाल रहेका छन् । कांग्रेस उम्मेदवार सुनिल थापाका प्रस्तावक उद्धव थापा र समर्थक रेगिना भट्टराई छिन् ।
यता, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का दुई उम्मेदवारले पनि मनोनयन दर्ता गराएका छन्। नेकपाबाट दलिततर्फ खेमराज सुन्दास र महिलातर्फ नमिता न्यौपानेले उम्मेदवारी दर्ता गराएका हुन् ।
न्यौपानेका प्रस्तावक गणेश उप्रेती र समर्थक गीता तिम्सिना छन् भने खेमराज सुन्दासका प्रस्तावक सपना परियार र समर्थक नमनारायण माझी रहेका छन् ।

Leave a Reply

Your email address will not be published.