झापा,२८ पुस । झापाको मेचीनगरस्थित काँकरभिट्टामा आयोजित मिडिया कपको उपाधि दार्जिलिङको तराइ प्रेस क्लबले हात पारेको छ । प्रेस क्लब मेचीनगरले आयोजना गरेको दुई दिवसीय ‘इन्डो नेपाल मेचीनगर मिडिया फुटबल कप’को आज काँकरभिट्टा खेल मैदानमा सम्पन्न फाइनल खेलमा तराइ प्रेस क्लब मिरिक (दार्जिलिङ) ले उपाधि जितेको हो ।
दार्जिलिङले भद्रपुर प्रेस क्लबलाई २–० को गोल अन्तरले पराजित गर्दै मिरिक च्याम्पियन बनेको थियो । खेलको दोस्रो हाफको ३२ औँ मिनेटमा मिरिकका प्रवेश भुजेलले एक गोल गरेर खाता खोलेका थिए । लगत्तै खेलको ४४ औँ मिनेटमा दावा लामाले गोल गर्दै टिमलाई अग्रता दिलाए ।
उसले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । यस्तै उपविजेता भद्रपुरले नगद २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।
खेलमा अन्तिम गोल गरेका दावा फाइनल खेलको म्यान अफ द म्चाय घोषित भए । उनले नगद एक हजार एकसय प्राप्त गरे ।
प्रतियोगिता भरिको उत्कृष्ट खेलाडी भद्रपुर प्रेस क्लबका सुशान्त नेपाल, उत्कृष्ट फर्वार्ड आयोजक प्रेस क्लब मेचीनगरका युवराज आचार्य, उत्कृष्ट डिफेन्डर भद्रपुरका राजु पाठक र उत्कृष्ट गोल किपर भद्रपुरकै सुजक राउत घोषित भए ।
प्रतियोगितामा सर्वाधिक गोल कर्ताको रुपमा विजेता मिरिकका प्रवेश भुजेल पुरस्कृत भए । विधागतरुपमा उत्कृष्ट घोषित सबै खेलाडी जनही नगद एक हजार ५ सयसहित ट्रफी तथा प्रदान गरिएको थियो ।
प्रतियोगितामा भारतका २ वटा र झापाका ६ वटासहित ८ वटा प्रेस क्लबहरुको सहभागिता रहेको थियो । विजेता र उपविजेतालाई समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गोपालचन्द्र बुढाथोकी पुरस्कार वितरण गरेका थिए ।