दमक,२६ पुस । झापाको कमल गाउँपालिका वडा नं ३ स्थित केर्खा बजार र आसपासमा केहि दिन यता हात्तीको त्रास फैलिएको छ । बस्ती नजिकैको उत्तरी जंगलबाट रातैपिछे जंगली हात्तीले उपद्रो मच्चाउन थालेपछि स्थानीयहरु त्रसित भएका हुन् । कमलको वडा न. ५ र ३ मा हात्तीले आउने गरेको भएपनि सातादिन यता भने कमल ३ को केर्खा बजार आसुपास भने रातैपिछे गाउँमा हात्ती पसेर दुख दिन थालेको कमल ३ का वडा अध्यक्ष अग्नीप्रसाद कोइरालाले बताए । उनका अनुसार यस वडामा हात्ती गाउँ पसेर अन्नवाली खानुका साथै आधा दर्जन घरमा क्षति पुरयाँएको छ ।
हात्तीले उपद्रो गर्न थालेपछि वडाले हात्ती प्रभावित बस्तीमा सर्तकता अपनाउन आग्रह गरिआएको उनले बताए ।यसैवीच, हात्ती प्रभावित बस्तीमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीसहित जनप्रतिनिधिहरुले हात्ती प्रभावित सो क्षेत्रको स्थलगत जानकारी लिँदै स्थानीयहरुसंग समस्या समाधानका लागि परामर्श लिएका छन् ।
केही दिन यता सो क्षेत्रमा हात्तीको बथाननै आएपछि त्यहाँको जनजीवन त्रसित बनाएको अध्यक्ष राईले बताए । हात्तीको समस्या केर्खाका अतिरिक्त,वडा नं ५ को सिम्ले, टुकुरे लगायतका बस्तीमा पनि रहेकाले हात्तीको आतंक न्यूनिकरण गर्दै कमलबासीको जीउधनको सुरक्षाका लागि आवश्यक निकायहरुमा समन्वय गरिएको उनले जानकारी दिए ।
उनले पालिकाको तर्फबाट जिल्लास्थित सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायत सम्बन्धित निकायमा समस्याका बारेमा जानकारी गराएर जोखिम रोकथाम तथा न्यूनीकरणका लागि योजनाबद्ध ढंगले काम गर्ने प्रतिबद्धता आएको पनि जनाए । अध्यक्ष राईले भने – ‘हात्तीले घर भत्काउने, अन्नबाली खाने र जनजीवन आतकिंत बनाइरहेको हुनाले तत्काल सबै सुरक्षा निकायसंग समन्वय गरि गस्ति बढाउन माग गरिएको छ ।’ केर्खा बजारदेखि कमल पुल सम्मको बाटो उत्तरतर्फ जंगलको झाडी सफा गर्ने, हात्ती धपाउन प्रयोग हुने साईरन, टर्च लाईट जस्ता सामाग्री तत्काल उपलब्ध गराउने प्रकृया अघि बढाएका समेत उनले जानकारी दिए ।
यसैगरि, दमक ३ को उत्तरी चुरे क्षेत्रका बस्तीमा समेत जंगली हात्तीले दुख दिदैआएको वडाअध्यक्ष नबीन बरालले बताए । वडाको दुम्से लगायतको बस्तीमा हात्तीले स्थानीयको अन्नबाली नष्ट गर्नुका साथै केहि घरमा क्षति समेत पुरयाँएको उनले बताए ।