कोशी घुम्ती अस्पताल सञ्चालनमा

दमक, २५ पुस । कोशी प्रदेश सरकारले पहिलोपल्ट कोशी घुम्ती अस्पताल सञ्चालनमा ल्याएको छ ।झापाको कमल गाउँपालिकाबाट आज एक कार्यक्रमका बीच यो घुम्ती अस्पतालको औपचारिक रूपमा शुभारम्भ गरिएको हो।
अस्पतालको कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले रिबन काटेर शुभारम्भ गरे । ठूलो बसभित्र अत्याधुनिक मेडिकल उपकरण जडान गरी अस्पतालको रूपमा यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार यसमा रेडियोलोजी, मुटुको एक्सरे, ब्लड टेस्ट, रगतको नमुना सङ्कलन गरी परीक्षण गर्ने उपकरण जडान गरिएको छ । यस किसिमको अस्पताल देशकै पहिलो तथा नमुनाका रुपमा रहेको कोशी प्रदेश सरकारले जनाएको छ ।
अस्पतालको सेवा शुभारम्भका क्रममा मुख्यमन्त्री कार्कीले यो सेवालाई गाउँ गाउँसम्म विस्तार गर्ने उल्लेख गरे । तत्कालै महामारी फैलिँदादेखि स्वास्थ्य शिविरहरु सञ्चालन गर्न यो प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे । उनले भने –‘यो घुम्ती अस्पताल नेपालमै पहिलो र नमुनायोग्य भएको र थप परिस्कृत गर्दै आम जनतामा पुर्याउने प्रदेश सरकारको योजना छ । ’

त्यस्तै प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले प्रदेश सरकारले जनताले देखिने गरी स्वास्थ्य क्षेत्रमा काम गर्ने जोड दिए ।करिब रु ८० लाख रुपैयाँ खर्च गरेर बसमा नै कोशी घुम्ती अस्पताल सुरु गरिएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

शिविरमा ५ सय लाभान्वित
सोही अवसरमा कमल नगर अस्पतालमा स्वास्थ्य निर्देशनालयले पालिकाको सहकार्यमा बृहत निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरेको छ । शिविरमा ५०० बढी बिरामीले स्वास्थ्य सेवा पाएको अस्पतालका प्रमुख दिपक दाहालले जानकारी दिए ।

त्यसैंगरी कमल नगर अस्पतालमा एल प्रविधिमा आधारित डिजीटल एक्सरे सेवा समेत उपलव्ध गराईएको थियो । एक्सरेमार्फत शिविरमा क्षयरोग, फोक्सो तथा छाती सम्बन्धी समस्या भएका १ सय ८२ जनाको परीक्षण गरिएकोमा ३६ जनाको शंकास्पद देखिएकाले थप परीक्षणका लागि सिफारिस गरिएको स्वास्थ्य शाखा प्रमुख बिनु थापाले जानकारी दिए ।
सोहि अवसरमा निर्देशनालयले जनप्रतिनिधि,स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको सहभागितामा मेरो स्वास्थ्य मेरो जिम्मेवारी स्वास्थ्य प्रवद्र्धन अभियान अन्तर्गत नसर्ने रोगको पहिचान , उपचार र सावधानीको विषयमा अनुशिक्षण प्रदान गरिएको मन्त्रालयका सचिव यदुचन्द्र घिमिरेले जानकारी दिए ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालय कोशीका निर्देशक ज्ञान बहादुर बस्नेत, जिल्ला समन्वय समिती झापाका प्रमुख विश्वनाथ बराल, कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, कोशी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा.यदुचन्द्र घिमिरे, विशेषज्ञ चिकित्सकहरु, जनप्रतिनिधिहरु, सेवाग्रहीहरुको उल्लेखीय उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.