वर्क फर नेपालद्धारा साढे तिन करोडका स्वास्थ्य सामाग्रीहरु प्रदान

दमक,२१ पुस । वर्क फर नेपाल नामक संस्थाले पूर्वी नेपालका विभिन्न अस्पतालहरुलाई रु ३ करोड रुपैयाँ ५० लाख बराबरका स्वास्थ्य सामाग्रीहरु प्रदान गरेको छ ।
विभिन्न दातृसंस्थाहरुको समन्वयमा प्राप्त ती सामाग्रीहरु उक्त संस्थाले प्रदान गरेको हो । आफ्नो ५ वर्षे कार्य सम्पादनका बारेमा विहिबार कमल- ५ स्थित पाडाजुंगीमा आयोजित सामाजिक लेखा परीक्षणका क्रममा संस्थाले सो जानकारी दिएको हो । संस्थाका अध्यक्ष तिलचन्द्र अधिकारीका अनुसार झापाको मेची, दमक अस्पताल, आम्दा, मोरङ्को पथरी, कोशी लगायतका अस्पताल र केहि स्वास्थ्य चौकीहरुमा ति सामाग्री प्रदान गरिएको हो ।
झापाको कमल ६ मा कार्यालय रहेको सो संस्थाले सन् २०१८ देखि २०२२ सम्म गरेका र आगामी दिनमा सञ्चालन हुने कार्यक्रमहरुका बारेमा सामाजिक लेखा परीक्षण गरेको अध्यक्ष तिलचन्द्र अधिकारीले जानकारी दिए । संस्थाले त्यस अवधिमा ८३ ओटा विद्यालयमा स्वच्च पिउने पानीको प्रवन्ध गरेको, २ सय ५७ जनालाई विभिन्न आयमूलक सीप प्रदान गरेको, ग्रामीण क्षेत्रहरुमा शिविर सञ्चालन गरि १ हजार ३ सय भन्दा बढि मोतियाविन्दूका विरामी पहिचान गरि शल्यक्रिया गराएको जनाएको छ । यस्तै ६ जनाको पाठेघर खस्ने समस्याको निदानका लागि उपचार गराएको संस्थाका कोषाध्यक्ष दिनेश संग्रौलाले जानकारी दिए ।
सामाजिक लेखा परीक्षण सार्वजनिकरण कार्यक्रममा कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गरिवी न्युनिकरण तथा शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकताको पूर्तिका लागि वर्क फर नेपाल गाउँपालिकाको भरपर्दो साझेदारको रुपमा रहेको बताए ।आगामी दिनमा समेत यस प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै उनले भने, –‘ यस संस्थाको पारदर्शीता र प्रभावकारी कार्यशैली अरुका लागि पनि सिकाई हुन सक्ने छ ।’कार्यक्रमका प्रमुख अतिथी राईले आयोजक संस्थाको तालिम लिएका महिलाहरुको आय आर्जनका लागि वितरण गरिएका दुई थान ढाका बुन्ने तान समेत हस्तान्तरण गरे ।

कार्यक्रममा हेल्पिङ् हेण्डस नेपालका कार्यक्रम व्यवस्थापक जीवप्रसाद पोखरेल, कमल ५ का वडाध्यक्ष लालबहादुर विष्ट लगायतले समुदाय तथा स्थानीय सरकारसँगको सहकार्यमा हुने कार्यक्रमहरु प्रभावकारी र उपलव्धिमूलक हुने गरेको औल्याएका थिए ।कार्यक्रममा अन्य जनप्रतिनिधीहरु, पूर्वजनप्रतिनिधीहरु, शिक्षक, विद्यार्थी, संस्थाका लाभग्राही लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.