मोरङमा भएका सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मोरङ,२१ पुस । मोरङका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ ।उर्लाबारी नगरपालिका–५ स्थित सडकमा प्रदेश १–०२–०४५ प २४६० स्कुटर अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा स्कुटर चालक उर्लाबारी नगरपालिका–५ झुम्राहा बस्ने ४५ वर्षीय नरेन्द्र गुरूङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको न्युरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी मोरङकै रंगेली नगरपालिका–३ रंजनीस्थित सडकमा को.२ त ५५९६ नम्बरको ट्याक्टर अनियन्त्रित भई शुक्रबार दिउँसो दुर्घटना हुँदा सहचालक सोही नगरपालिका–३ दक्षिण टोल बस्ने १८ वर्षीय सुरज पासवानको मृत्यु भएको छ । सुरजले उक्त ट्याक्टर चलाउने क्रममा दुर्घटना भई गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
उता विराटनगर महानगरपालिका–१४ स्थित सडकमा जेएच १५ जे ७१०३ नम्बरको ट्रक र प्र.१–०२–०४१ प १३२१ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई शुक्रबार साँझ दुर्घटना हुँदा सोही महानगरपालिका–१५ मिल्स एरीया बस्ने बैजनाथ ठाकुरको छोरा मोटरसाइकल चालक १६ वर्षीय सुरज ठाकुरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published.