मेलमिलाप दिवसमा कांग्रेसद्धारा आश्रमलाई सहयोग

दमक,१६ पुस । ४७ औं राष्ट्रिय मेलमिलाप तथा एकता दिवसको अवसर पारेर सोमबार दमकमा अन्तरक्रियासहित दमक बाल आश्रमलाई सहयोग प्रदान गरिएको छ । कांग्रेस झापा क्षेत्र नं ५ (ख)को आयोजनामा दमक -९ स्थित आश्रममा संक्षिप्त कार्यक्रम गरि मेलमिलापदिवसहित खाद्यान्न हस्तान्तरण गरिएको हो ।
कांग्रेस केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य महेन्द्रकुमारी लिम्बूको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा सहभागिहरुले महामानव वीपि कोइरालाले लिएको तत्कालिन अवस्थामा राजासँग मिलेर प्रजातन्त्र स्थापनाको लागि गरेको प्रयत्नबाटनै मुलुकमा राजनीतिक अधिकार स्थापित भएको औल्याए । कांग्रेस नेतृ लिम्बूले कांग्रेसनै मुलुकको अभिभावक पार्टीका रुपमा रहेकाले यसको इतिहास र बिरासतलाई कायम राख्दै सबै दलहरु कांग्रेसले लिएको प्रजातन्त्रको बाटोमा हिंडनु सुखद भएको बताइन् ।
कांग्रेस झापाका उपसभापति शेरबहादुर भट्टराईले मुलुकको मुल पार्टीका रुपमा कांग्रेस रहेको बताउँदै कांग्रेसले यस्ता ऐतिहासिक महत्व दिनहरुलाई बिर्सिन नहुने उल्लेख गरे ।
पार्टीका क्षेत्रीय सभापति ढुण्डीराज भण्डारीले पार्टी भित्रको आन्तरिक एकता बलियो नभएसम्म पार्टी बलियो नहुने र पार्टी बलियो नभई मुलुकलाई बलियो बनाउन नसकिने भएकाले आन्तरिक एकतामा जोड दिएका थिए ।
कांग्रेसले जनतासँग जोडिएर सेवामुलक काम गर्नुपर्ने वीपिको विचार रहेकाले वीपि विचारलाई आत्मसात गर्दै यस किसिमको कार्यक्रम गरिएको पार्टीका प्रदेश सभा क्षेत्र (ख)का कोषाध्यक्ष दिनेश अधिकारीले बताए । आश्रमका बालबालिकालाई आवश्यक पर्ने एलपी ग्याँस, आलु, प्याज, फलफुल लगायतका भान्सामा उपयोगी सामग्रीहरु प्रदान गरिएको थियो ।
प्रदेश सभा क्षेत्र खका सभापति रवि केसी न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका कोशी प्रदेश समिति सदस्य भुमिराज राई, महासमिति सदस्यहरु सुरेश सुब्बा, आइन्द्रराज केरुङ, डा. नेत्रबहादुर बुढाथोकी, महाधिवेशन प्रतिनिधिहरु राजन ढुंगाना, विक्रम अधिकारी, कार्यवहाक दमक नगर सभापति युवराज खनाल, सचिव दिपेश दाहाल, वडा सभापतिहरु चैतन्य बराल, युवराज कोइराला , नेपाल महिला संघकी क्षेत्रीय सभापति गोमा बुढाथोकी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.