एड्भान्स अस्पतालको कोभिड यूनिट बन्द

दमक,५ असार । कोरोना संक्रमणको दर घटेसंगै विरामीहरु उपचार गर्न आउन छाड्ेपछि दमकको एडभान्स अस्पतालको कोभिड यूनिट वन्द गरिएको छ ।
संक्रमण दर घटेसंगै अस्पतालहरुमा समेत उपचार गर्न आउनेको संख्या घट्न थालेपछि एड्भान्स अस्पतालले सञ्चालन गरेको कोभिड विशेष उपचार सेवा हाललाई बन्द गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
कोरोना संक्रमण दर उच्च बन्दै बिरामीले उपचारनै नपाउने अवस्था बनेपछि गत बैशाख २२ गतेबाट अस्पतालले कोभिड युनिट सञ्चालनमा ल्याएको थियो । उपचाररत बिरामीहरु डिस्चार्ज भएको र नयाँ बिरामी आउन छाडेपछि अस्पतालको कोभिड युनिटमा बन्द गर्नु परेको अस्पतालका सञ्चालक चैतन्य बरालले जानकारी दिए ।
कोभिड यूनिटमा ३ वटा भेन्टिलेटरसहित २३ बेड रहेको थियो । कोभिड युनिट बन्द गरिएसंगै अस्पताललाई पुरै निर्मलिकरण गर्नु पर्ने भएकाले हाललाई ईमरजेन्सी बाहेकका सवै सेवा बन्द गरिएको उनले जानकारी दिए ।
अहिले अस्पतालको सबै क्षेत्रलाई सेनिटाईज गरि बन्द गरिएको र आज आइतवारबाट नियमित सेवा सुरु हुने अस्पतालका अध्यक्ष माधव पराजुलीले जानकारी दिए । कोरोनाका बिरामी आउने क्रम रोकिएकाले आजदेखि अस्पतालको अन्य नियमित सेवा सुरु हुने उनले बताए । आगामी दिनमा संक्रमण दर बढेर बिरामी आउन थाले पुनः कोभिड युनिट सञ्चालन गरिने उनको भनाई छ ।
कोभिड युनिट सञ्चालन अवधिमा जम्मा १२२ जना बिरामीलाई सेवा दिईएको अस्पतालका कोभिड युुनिट ईन्चार्ज डा. अनिल थापाले जानकारी दिए । अस्पतालले कोभिड यूनिटमा ४ जना बिषेशज्ञ चिकित्सक सहित ३० जना कर्मचारीहरु परिचालित भएका थिए भने सेवा दिने क्रममा डाक्टर,कर्मचारीसहित ६ जना समेत संक्रमित बन्न पुगेको पनि जानकारी दिए ।.

Leave a Reply

Your email address will not be published.